नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सल्यानबाट ३५ वर्षमुनिको युवा क्लस्टरअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि मोहन प्रकाश ओलीले उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठनसँग जोडिएर राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका ओलीले युवाको सहभागिता र पुस्तान्तरणसँगै संगठनलाई थप गतिशील बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।
ओली सल्यानका विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। काठमाडौंमा रहेर पनि सल्यानबाट काठमाडौं आउने सर्वसाधारणका समस्या तथा आवश्यकतामा आफ्नो तर्फबाट सहयोग गर्दै आएको उनको भनाइ छ। विशेषगरी अप्ठ्यारो अवस्थामा रहेका बिरामी तथा समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने कार्यमा आफू निरन्तर जोडिँदै आएको ओली बताउँछन् ।
“राजनीति पद प्राप्त गर्ने माध्यम मात्र होइन, समाज र संगठनप्रतिको जिम्मेवारी पनि हो” भन्ने धारणा राख्ने ओलीले युवाको प्रतिनिधित्वलाई व्यवहारिक रूपमा स्थापित गर्ने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी प्रस्तुत गरेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ असोज १० गते शनिवार