रोल्पाको लुङ्ग्री गाउँपालिकामा कम्प्युटर तथा फोटोकपी मेसिन खरिद प्रक्रियामा करिब ५ लाख रुपैयाँभन्दा बढी आर्थिक अनियमितता भएको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा तीव्र विवाद चुलिएको छ।

गाउँ कार्यपालिकाको जेठ ५ गतेको निर्णयअनुसार विद्यालयहरूलाई अनुदानस्वरूप वितरण गरिएका कम्प्युटर तथा फोटोकपी मेसिन खरिदमा बजार मूल्यभन्दा अस्वाभाविक रूपमा बढी रकम देखाएर नक्कली बिल बनाइएको तथ्य बाहिरिएको हो।

सार्वजनिक विवरणअनुसार सामग्रीको वास्तविक मूल्य करिब ९ लाख ९० हजार ५०० रुपैयाँ रहेको देखिए पनि गाउँपालिकाबाट १४ लाख ९५ हजार ५५९ रुपैयाँ बराबरको बिल तयार गरिएको पाइएको छ। यसले करिब ५ लाख ५ हजार ५९ रुपैयाँको रहस्यमय फरक रकम देखाएको छ। स्थानीयले यसलाई सामान्य त्रुटि नभई योजनाबद्ध आर्थिक चलखेलको संकेत भएको बताएका छन्।

विवाद चर्किएपछि वितरण गरिएका सामग्री सार्वजनिक बिदाको दिन गाउँपालिकाको गाडी नै प्रयोग गरी फिर्ता गरिएको र पुनः सप्लायर्सलाई पठाइएको खुलेको छ। सरकारी स्रोत र साधन प्रयोग गरेर हतारहतार सामग्री फिर्ता गरिएको घटनाले झन् शंका बढाएको स्थानीयको भनाइ छ।

घटनापछि आक्रोशित युवाहरूले गाउँपालिका परिसरमा विरोध प्रदर्शन गरेका थिए। उनीहरूले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरी सामग्री वितरण तथा फिर्ता गरिएको विषयमा स्पष्ट जवाफ मागेका छन्।

गाउँपालिका अध्यक्ष भरत थापाले आफू कुनै पनि अनियमिततामा संलग्न नरहेको दाबी गरेका छन् भने प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले सम्पूर्ण जिम्मेवारी सप्लायर्सतर्फ धकेल्दै आफू दोषी नभएको बताएका छन्। जनसहारासंग कुरा गर्दै रिजालले भने: `आउनु पर्ने सामान नआएर मिस्टेकले अर्को सामान आएको रहेछ त्याे तुरुन्त फिर्ता भइसकेको छ।´

यता स्थानीय युवाहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्। उनीहरूले आवश्यक परे थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

कम्प्युटर खरिदमै ५ लाखभन्दा बढी रकमको रहस्य बाहिरिएपछि लुङ्ग्री गाउँपालिकाको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १९ गते मङ्गलवार