कात्तिक २१ राेल्पा – पुर्वी रोल्पाको सुलिचौर- जैमाकसला- फुलिबन-उवा थबाङ अन्तर्गत फुलिबन देखि उवा थबाङ जाेडने मोटरबाटो दशै तिहार सकिदा पनि संचालनमा आउन सकेको छैन।

वर्षादको कारण गत असार महिना देखि अवरुद्ध सडक अझै पनि संचालनमा नआउदा स्थानीय उवाबासीहरुलाई दैनिकी उपभोग्य सामाग्री ढुवानी तथा बिरामी मान्छेहरुलाई अस्पताल लैजान समस्या रहेको स्थानीयहरुले बताए।
गत भदौमा सुनछहरी गाउँपालिका वडा नम्बर १ फुलिबनमा गएको पहिरोले बाटो अवरुद्ध बनाए पछि अहिलेको दशै तिहारसम्म पनि संचालनमा ल्याउन पहल नगरेको थबाङ गाउँपालिका वडा नम्बर ५ उवाका स्थानीय डिके रोकामगरले बताउनु भयो। उहाले भन्नू भयो ” अहिलेसम्म बाटो नखुल्नुमा सम्बन्धित निकाय तथा सरोकारवालाहरुले ध्यान नदिनु र व्यापार व्यवसाय तथा आमजनसमुदायले आवाज एकमुष्ट रुपमा नउथाउनु र उथाए पनि छरपस्ट रुपमा उठाउदा बाटो खुल्न नसकेको।” बताए।

सुलिचौर बजारदेखि आवश्यक खाद्य तथा दैनिक उपभोग्य सामाग्री २५ किमी गाडीमा त्यसपछी पिठ्युँमा बोकेर गाउँ लैजान बाध्य भएको स्थानीय रामकुमारी घर्तीमगरले बताइन्। उनले भनिन् “सुलिचौर बजार देखि तिहारमा आवश्यक पर्ने मालसामान गाडी रिजर्भ गरि बाछेमखोला देखि पिठ्युँमा बोकी झन्दै एक दिनको बाटो हुँदै उवा ठूलो गाउँ पुग्नु पर्ने हाम्रो बाध्यता छ।”

उता थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले तिहार लगत्तै बाटो संचालनमा ल्याउने बताउनु भएको छ। उहाले भन्नू भयो ” कोटेशन आह्वान भैसकेको छ अब छिटै सम्झौता भइ तुरुन्तै तिहार पछि बाटो खोल्ने लागिएको छ।”
लुम्बिनी प्रदेश सरकारको दायित्व भित्र पर्ने सुलिचौर थबाङ मोटरबाटो वार्षिक १५/२० लाख खर्च गरेर स्थानीय सरकारले प्रत्येक वर्ष बाटो संचालनमा ल्याएको अध्यक्ष घर्तीले बताउनु भयो।” उहाँले भन्नू भयो ” प्रदेशले हेर्ने भएकोले स्थानीय सरकारले हेर्ने त होइन तर पनि स्थानीय जनसमुदायलाई समस्या भएकोले बाटो खुलाउन्न लागिएको हो।”

प्रकाशित मिति : २०७८ कार्तिक २१ गते आइतवार