कात्तिक ११ राेल्पा – २०६४ यता मुलुक शान्ति प्रक्रियामा गयो। करिब १० वर्ष लामो आन्तरिक द्वन्दले थलिएको देश र जनताले बल्ल लामो शास फेर्न पाएका थिए।

त्यो बेला कति अनुहारमा खुशी देखिएको थियो तर द्वन्दमा परिवारका सदस्य गुमाएका मानिसहरुका अनुहारमा निराशा छाएको थियो। जे होस् लामो समय चलेको द्वन्दको बिसर्जन भएपछि समग्र रुपमा सबैले परिवर्तनको आशा बोकेर नयाँ नेपालको पर्खाईमा बसेका थिए। दश वर्ष सम्म चलेको शस्त्र १० वर्षे द्वन्द्वमा आमूल परिवर्तनको मोर्चा बोकेर होमिएका करिब १७ हजार जना सहिद भए हजारौं घाइते भए,बेपत्ता भए।

२०६४ को निर्वाचनपछि तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीको सरकार बन्यो। सरकारले सहिदहरुका सम्मानका लागि शहिद नै नामाकरण गरेर विभिन्न आयोजना योजनाहरु अगाडि बढायो। जसमध्ये तत्कालीन जनयुद्धको उद्गम स्थल रोल्पाको होलेरीमा सहिदहरुकै सम्मानका लागि तत्कालीन शान्ती मन्त्रालयद्वारा सहिद गेट बनाउन भनेर क्रमागत १० लाख बजेट विनियोजन गरियो। होलेरीका समाजसेवी युबराज चन्दको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर गेट निर्माण प्रक्रिया अगाडि बढाइयो। शुरूवाती वर्षमा ६८ हजार रकम आउँदा उपभोक्ता समितिले पुर्वाधारको काम अगाडि बढाउन सकेन। तर पछिल्लो आर्थिक वर्ष २०६५/०६६ मा पुनः १ लाख बीस हजार रकम आएपछि सहिद गेटको पिलर बिछ्याउने लगाएतका कामहरु अगाडि बढाएको चन्द बताउँछन्।४/५ आर्थिक वर्ष गरेर जम्मा ५ लाख जति बजेट गेटका निर्माणका लागि आइपुग्यो र हामीले दुई वटा पिलर स्थापना गर्यौँ,-चन्दले भने त्यसपछि बजेट आए अनुसार बिस्तारै काम अघि बढ्दै थियो।तर आर्थिक वर्ष २०७४/०७५ मा घोराही,होलेरी-थबाङ जोड्ने सहिदमार्ग आयोजनाको काम शुरु भएपछि मलाई थाहै नदिई स्थानिय एकदुई जना नेताहरुको अगुवाईमा दक्षिणतिरको पिलर भत्काइएछ। र काम लाथालिङ्ग भयो,-उनले बताए।

तत्कालीन उपभोक्ता समिति अध्यक्ष चन्दले भने जस्तै यो कुरा साचो हो होइन ? त्यस यता आजसम्म कुनै छानबिन समितिनै बनेको छैन। त्यस यता मुलुकमा व्यवस्थाहरु पटकपटक परिवर्तन भए २०७४ यता देशमा संघीयता लागू भयो तर स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाले समेत यस बारे औपचारिक रुपले कतै पनि बोलेको सुनिएको छैन। त्यतिबेला गेट बनाउन खर्च गरेको ५ लाख रकम बालुवामा पानी जस्तै भएको स्थानियहरुको गुनासो छ। २०५८ सालमा तत्कालीन सरकार पक्ष शाही नेपाली सेनाले होलेरीमै गोली हानी हत्या गरेको रुन्टीगढी ६ सरेचौर गाउँका रोबर बिकको परिवारलाई अहिले साझ बिहानको छाक टार्न हम्मेहम्मे परिरहेको छ। तर सहिदहरुकै सम्मानका लागि भनेर अल्पत्र पारिएको निर्माणाधिन सहिद गेट निर्माण शुरूवात गरिएको १४ वर्षसम्म बचेको एउटा पिलरले यहाँका स्थानिय सरकार तथा राजनैतिक दलहरुलाई गिज्ज्याई रहेको छ। घोराही-होलेरी सहिद मार्ग अन्तर्गत पर्ने होलेरीमा बनाएको यो गेट त घोराही,होलेरी-थबाङ सहिद मार्ग अगाडि बेथिति र सहिदहरुका सपना कति पूरा भए ? र सहिदहरुलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ?भन्ने सानो उदाहरण मात्र हो।

कालोपत्रे गरेको डेढ वर्षमै छिया-छिया बनेको घोराही-होलेरी सहिदमार्गको अवस्था हेर्दा त राज्यले सहिदहरुका छातीमा निर्ममतापुर्वक कुल्चिएको अनुभुती हुने स्थानियहरु बताउँछन। मुलुक संघीयतामा गएपछि पनि धेरै पटक सरकार फेरियो।सरकारमा विभिन्न दलहरू पुगे तर सहिदहरुका सम्मानका लागि नत स्थानिय सरकार र अन्य राजनैतिक दलले नै आवाज उठाए न त प्रदेश सरकार र संघिए सरकारले नै,स्थानिय सरकारका पदाधिकारीहरु त्यहीँ सहिद मार्गमा अल्पत्र सहिद गेट भएको ठाउँबाटै चिल्ला गाडिमा हुइकिन्छन तर उनिहरुको नजरमा अल्पत्र शहिद गेट परेन।

सहिदमार्ग हिउँदमा पुरै धुलाम्मे र वर्षातमा पुरै हिलाम्मे हुने गर्दछ गाडीको सिसा बन्द गरेर ए/सी लगाएर हुइकिन पाएपछि ध्यान पनि कसरी जाओस् ? अन्य दलका स्थानिय नेताहरू राजनीति जागिरै हो कि जसरी दिनभर होलेरीमै चिया चौतारोमा हास्दै चियाको चुस्की लिदै रमाइरहेका हुन्छन् तर उनिहरुको ध्यानपनि शहिदहरुका सम्मान र जनताका सहजताका लागि जान सकेन। मुलुक परिवर्तनका खातिर आफ्नो ज्युज्यानै समर्पित गरेका सहिदहरुका सम्मान त भएकै छैन बरु उनिहरुका नाममा कमाउने खेलो भैरहेको यस क्षेत्रका स्थानियहरुको बुझाई रहेको छ।

प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार