बिहानी हुन्छ कसले याम छेक्छ र
सम्झिए हुन्छ कसले राम छेक्छ र
एकैछिन बादल लागेको मात्र हो
उज्यालो हुन्छ कसले घाम छेक्छ र?

समाजमा सबै सज्जन हुँदैनन्
हरेक परोपकारी मन हुँदैनन्
पापी छन् र त मान छ धर्मको
सबै राम्रै राम्रा त झन हुँदैनन्।

मुटुभरि माया साँच्नू भन्दिनू
बेलाबेला छाती जाँच्नू भन्दिनू
सँगै ज्युँने धोको पुग्या छैन रे !
जस्तै भए पनि बाँच्नू भन्दिनू।

पीरमाथि पीर थपिन्छ घात परेपछि
दु:खमाथि दु:खको खात परेपछि,
दिन त यता उता गर्दै बित्दो रै’छ
मन बुझाउनै गाह्रो रात परेपछि ।

आजभोलि जताततै मृत्युको खबर बढेकोछ
विज्ञानले पनि हार खायो झन कहर बढेकोछ
बयान कसरी गरौं अकल्पनीय घटनाहरूको
को कतिबेला ढल्छ ढुकढुकीसँगै डर बढेकोछ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार