चैत २७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि बेसार र ताताे पानीले काेराेना जितिन्छ भन्दा सर्वत्र हास्यास्पद आलोचना भएकाे थियाे।

फेरि काेराेनाकाे दाेस्राे कहर आइरहेको बेला प्रधानमन्त्री ओलीले अर्काे जुक्ति बताएका छन। बिहीबार नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्ने बानी बसाल्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनकाे भनाइ छ।

कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताएका हुन् । पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न आग्रह गर्दै प्रधानमन्त्री भन्छन ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिएपछि चैट,’ उनले थपे, ‘नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत रहन र गराउन जाेड दिए।

अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दाबी पनि प्रधानमन्त्री ओलीले गरे । कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा सामान्य असर परे पनि पहिलेकै अवस्थामा ल्याउन भने समय लागे पनि सरकारले निरन्तर काम गरिरहेकोले विकासका क्रियाकलापले गति लिएको दाबी गरे।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार