झापाको दमक नगरपालिका–१० स्थित रतुवा खोलामा बोराभित्र पोको पारिएको अवस्थामा मृत फेला परेकी २१ वर्षीया रमा तिवारीको हत्या यौन सम्पर्कपछि पैसाको विवाद हुँदा भएको खुलेको छ।
नेपाल प्रहरीको संयुक्त अनुसन्धान टोलीले हत्यामा संलग्न भारतको बिहार राज्य अररिया ग्राम पञ्चायत घर भई हाल दमक–५ बस्दै आएका ३३ वर्षीय राकेशकुमार पण्डितलाई पक्राउ गरेपछि घटनाको रहस्य बाहिर आएको हो।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काका अनुसार मृतक तिवारी र आरोपी पण्डित एकअर्काका लागि अपरिचित थिए। गत जेठ १३ गते राति घरबाट निस्किएकी रमाको दमक–९ स्थित चियादोकान चोकमा पण्डितसँग भेट भएको थियो।
प्रहरी अनुसन्धानअनुसार दुवैबीच सहमतिमा शारीरिक सम्बन्ध राख्ने समझदारी भएको थियो। आरोपी पण्डितले बयानका क्रममा सहमतिअनुसार दुई पटक यौन सम्पर्क गरेको र त्यसपछि पैसाको विषयमा विवाद भएको बताएका छन्। उनले एटिएमबाट पैसा निकालेपछि दुवै जना दमक–५ स्थित झाडी क्षेत्रमा पुगेका थिए।
प्रहरीका अनुसार पूर्वसहमतिभन्दा बढी रकम मागिएपछि विवाद चर्किएको थियो। सोही क्रममा पण्डितले घाँटी थिचेर रमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्यापछि आरोपी आफ्नो डेरामा फर्किएका थिए। त्यसपछि शव व्यवस्थापनका लागि डेराबाट बोरा र पाइप ल्याई शवलाई बोरामा पोको पारेका थिए। प्रहरीले जनाएको छ, घटनालाई लुकाउन उनले मोटरसाइकलसमेत परिवर्तन गरेका थिए।
मध्यरात करिब १२ बजे उनले शवलाई घटनास्थल दमक–५ बाट करिब १५ किलोमिटर दक्षिणमा रहेको दमक–१० स्थित रतुवा खोलामा लगेर फालेका थिए। तीन दिनपछि अर्थात् जेठ १६ गते खोलामा सडेको अवस्थामा शव फेला परेको थियो।
घटनाको अनुसन्धानका क्रममा आरोपीको अनौठो गतिविधिसमेत खुलेको छ। हत्या गरेको भोलिपल्ट अर्थात् जेठ १४ गते बिहान साढे ६ बजे उनी दमक–६ स्थित पशुपति मन्दिर पुगेर ‘प्रायश्चित’स्वरूप माफी माग्न गएको प्रहरीको दाबी छ। मन्दिर पुगेको दृश्य सिसिटिभी फुटेजमा समेत कैद भएको प्रहरीले जनाएको छ।
शव फेला परेकै दिन उनी भारततर्फ फरार भएका थिए। तर आफू सुरक्षित रहेको ठानेर दुई दिनपछि पुनः दमकस्थित डेरामा फर्किएका बेला प्रहरीले नियन्त्रणमा लिएको हो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी कार्यालय धरान तथा इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतको नेतृत्वमा अनुसन्धान गरी आरोपीलाई पक्राउ गरेको हो।
हाल पण्डितविरुद्ध ज्यानसम्बन्धी कसुर तथा जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।