कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–५ मा ४५ वर्षीय लिलाराम सुनार आफ्नै घरमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेको घटनामा उनकी पूर्वश्रीमती यशोदा सुनार नै संलग्न रहेको खुलेको छ।

सोमबार बिहान लिलारामको हत्या भएको भन्दै यशोदाले नै प्रहरीलाई खबर गरेकी थिइन्। तर प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा उनकै संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनाबीच आपसी विवाद हुँदा लिलारामले “मारिदिन्छु” भन्दै चक्कु देखाएका थिए। त्यसपछि यशोदाले सोही चक्कु खोसेर प्रहार गर्दा लिलारामको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

प्रहरीसमक्ष दिएको बयानमा यशोदाले श्रीमानको हत्या गरेको स्वीकार गरेकी छन्। प्रहरी स्रोतका अनुसार उनीहरूबीच यसअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो। तर पछिल्लो समय लिलारामको स्वास्थ्य अवस्था कमजोर भएपछि हेरचाह गर्न यशोदा पुनः घरमा बस्न थालेकी थिइन्।

मदिरा सेवनका कारण दुवैबीच बेला–बेला विवाद हुने गरेको पनि खुलेको प्रहरीले जनाएको छ। उनीहरूकी एक छोरी रहेको र उनको विवाह भइसकेको बताइएको छ।

प्रहरीलाई दिएको बयानमा यशोदाले भनेकी छन्, “हाम्रो डिभोर्स भइसकेको थियो। उहाँको खुट्टा भाँचिएको थाहा पाएपछि हेरचाह गर्न फर्केर आएकी थिएँ। घटनाको दिन ‘तलाई मार्छु’ भन्दै ममाथि आक्रमण गर्न आएपछि रिसको आवेगमा चक्कु खोसेर प्रहार गरेँ।”

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ ६ गते बुधवार