बाँकेको नेपालगन्जमा ब्रतबन्ध कार्यक्रममा सहभागी हुन आएका एक युवकको निर्मम हत्या भएको घटनाले अहिले त्याे स्थानीय क्षेत्र स्तब्ध बनेको छ। खजुरा गाउँपालिका–६ निवासी २१ वर्षीय विशाल चन्द ठकुरीको मंगलबार बिहान चक्कु र बियरका बोतल प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

विशाल आफ्ना साथी प्रितम अधिकारीको ब्रतबन्धमा सहभागी हुन वैशाख २१ गते बेलासपुर पुगेका थिए। कार्यक्रम सकिएपछि सुत्ने ठाउँ अभाव भएपछि प्रितमले आफ्ना आफन्त दीपेन्द्र रोकायाको घरमा विशालसहित केही साथीलाई बस्ने व्यवस्था मिलाए। राति एउटै कोठामा बसेर रमाइलो भइरहेका बेला बिहान करिब २ बजेतिर विशाल र दीपेन्द्रराज गिरीबीच सामान्य भनाभन भएको प्रहरी अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले बताए।

विवादपछि दीपेन्द्रले कैलालीस्थित आफ्ना साथीहरूलाई फोन गरेर नेपालगन्ज बोलाएका थिए। त्यसपछि उनीहरू रातारात मोटरसाइकलमा नेपालगन्ज पुगेका थिए। बिहान करिब ५ बजेतिर विशालमाथि चक्कु, बियरका बोतल तथा फुटेका बोतल प्रयोग गरी आक्रमण गरिएको प्रहरीले जनाएको छ। पहिलो पटक भेट भएका उनीहरूबीचको विवादले केही घण्टामै ज्यानै लिने रूप लियो।

ज्यान जोगाउन विशाल भाग्न खोजे पनि आक्रमणकारीहरूले लखेट्दै झण्डै सय मिटरसम्म लगातार प्रहार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। गम्भीर घाइते भएका विशाललाई उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले सिसिटिभी फुटेज र अन्य प्रमाणका आधारमा अनुसन्धान गर्दै संलग्नहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपालिका–१ का १९ वर्षीय दीपेन्द्र राज गिरी, २० वर्षीय बिलियस कुँवर, १८ वर्षीय सुशिल खत्री, २० वर्षीय खेमेन्द्र देवकोटा, कालिकोट पचालझरना गाउँपालिका–६ का १८ वर्षीय सन्तोष संज्याल तथा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का २० वर्षीय रुपेश थापा रहेका छन्।

प्रहरीले घटनास्थलबाट एउटा चक्कु, सु.प्र.०१–०१४ प १२५६ नम्बरको मोटरसाइकल तथा बियरका बोतल र फुटेका बोतलका टुक्राहरू बरामद गरेको जनाएको छ।

मृतक विशाल जापान जाने अन्तिम तयारीमा समेत थिए। घटनामा संलग्नहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २४ गते बिहिवार