रुपन्देही — सीमावर्ती क्षेत्रबाट हुने अवैध व्यापार तथा तस्करी नियन्त्रण गर्ने अभियानअन्तर्गत लुम्बिनी प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामग्री बरामद गरेको छ।

साेमबार साँझ करिब ५:०० बजेको समयमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमाण्डमा खटिएको विशेष गस्ती टोलीले रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–३ पडरिया क्षेत्रमा सडक किनारामा बेवारिसे अवस्थामा राखिएका सामान फेला पारेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार भारतबाट अवैध रूपमा भन्सार छली गरी लुकाइ–छिपाइ नेपाल भित्र्याइएका भाँडाकुँडा तथा चिनी बरामद गरिएको हो। बरामद गरिएका सम्पूर्ण सामग्रीहरूको कुल बजार मूल्य करिब रु. ३ लाख ४० हजार ४६० रहेको बताइएको छ।

उक्त सामग्रीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको प्रहरीले जनाएको छ। साथै, सीमा क्षेत्रमा हुने यस्ता गैरकानुनी गतिविधिहरू नियन्त्रण गर्न प्रहरी प्रशासन अझ कडाइका साथ लागिरहेको पनि जनाइएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ८ गते मङ्गलवार