कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ हत्या आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार उनलाई बिहीबार महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो । उनी नेपाली कांग्रेसबाट निर्वाचित भएकि थिइन।
कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि नाथलाई हिरासतमा राखिएको छ । उक्त मुद्दा इलाका प्रहरी कार्यालय बेलडाँडीमा दर्ता भएको उनले जानकारी दिए ।
घटना करिब एक वर्षअघिको हो । गत वर्ष वैशाख ९ गते बेलौरी नगरपालिका–१०, शिवनगरस्थित घटियाघाट रोड नजिकै हरिकिसन राना मोटरसाइकलसहित जलेको अवस्थामा मृत फेला परेका थिए ।घटनास्थल सडक छेउमै भएकाले सुरुदेखि नै दुर्घटना वा हत्या भन्ने दुवै कोणबाट अनुसन्धान हुँदै आएको थियो ।
मृतककी पत्नी फिरियादेवीले उपाध्यक्ष नाथविरुद्ध योजनाबद्ध रूपमा धम्की दिएको, आर्थिक लेनदेनका लागि दबाब दिएको र ज्यान मार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन् ।कृषि अनुदान दिलाउने बहानामा रकम असुल्न खोजिएको र रकम नदिँदा धम्की दिएको जाहेरीमा उल्लेख छ ।
४ महिना अघि नै भ्रष्टाचार ठहरमा निलम्बित
नभएको घरलाई बनेको देखाएर बैंक ऋण उठाएको मुद्दामा संलग्न रहेको ठहरिएपछि उपाध्यक्ष शान्ति नाथ पदबाट निलम्बनमा परेकि हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा उनीसहित चार जना विरुद्ध भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेसँगै प्रचलित कानुनअनुसार नाथको पद निलम्बनमा परेको हो ।
अख्तियारले दायर गरेको आरोपपत्र अनुसार, बेलडाँडी–२ की शान्ति नाथले कित्ता नं. ३५७, क्षेत्रफल ४०० वर्गमिटर जग्गामा नभएको घर बनेको देखाउँदै झुट्टा नक्सा तयार गरी लक्ष्मी सनराइज बैंकबाट दुई चरणमा गरी रु. ३३ लाख ७५ हजार ऋण लिएको ठहरिएको छ ।
उक्त झुट्टा नक्सा तयार पार्ने क्रममा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब-इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब-इन्जिनियर तेजबहादुर सुनारको मिलेमतो रहेको अनुसन्धानमा पुष्टि भएको आयोगले जनाएको छ।
आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनमा जग्गामा कुनै पनि पक्की संरचना नभएको किटानी प्रमाणसहित मुचुल्का तयार गरेको थियो । नापी कार्यालय, बेलौरीले पनि त्यही जग्गामा कुनै निर्माण नदेखिएको स्पष्ट उल्लेख गरेको छ ।