दाङमा एक व्यक्तिले आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीमा बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१० का ३४ वर्षीय गोपाल ओलीले आफ्नी २७ वर्षीया श्रीमती कमला ओलीको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार साँझ करिब साढे ७ बजेतिर घरमै भएको विवादका क्रममा गोपालले धारिलो हतियार प्रहार गरेका थिए। टाउको र अनुहारमा गम्भीर चोट लागेकी कमलालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार आरोपित गोपाल ओलीलाई घटनालगत्तै नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रारम्भिक जानकारीअनुसार गोपाल सरकारी सेवामा कार्यरत रहेका छन्। उनी हाल वन कार्यालय वीरगञ्जमा लेखा अधिकृतका रूपमा कार्यरत रहेको खुलेको छ।

घटनाअघि उनी आफ्ना भाइको काजकिरिया सकेर दाङ फर्किएका थिए। उनका भाइ महेन्द्र ओलीले आफ्नो प्रेमिकाले धाेका दिएकाे भन्दै फेसकुकमा प्रेमिका सहितकाे संयुक्त फाेटाे राख्दै गत चैत १ गते रुकुम पश्चिमको मुसिकोटस्थित बराहटाकुरा पुलबाट हाम फालेर आत्महत्या गरेका थिए।

प्रहरीले घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार