अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका नगर प्रमुख पुष्प वली र सोही नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार करार सेवामा कार्यरत शाहले आफ्नो सेवा करार नवीकरण गराइरहन नगर प्रमुख वादीलाई १ लाख रुपैयाँ घुस दिएको आरोप लागेको छ। उक्त विषयमा परेको उजुरीमाथि अनुसन्धान गर्दा घुस लेनदेन भएको तथ्य खुलेपछि आयोगले दुवैलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको जनाएको छ।

अनुसन्धानका क्रममा करार अवधि सकिन लागेपछि सेवा निरन्तरता कायम गराउन शाहले नगर प्रमुखलाई रकम दिएको देखिएको आयोगको भनाइ छ।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार घुस लिने र दिने दुवै पक्ष अपराधमा पर्ने कानुनी व्यवस्था रहेकाले सोही आधारमा नगर प्रमुख वादी र इन्जिनियर शाहविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगले उनीहरूमाथि १/१ लाख रुपैयाँ बिगो कायम गरी सोही बराबर जरिवाना तथा कैद सजायको माग गरेको छ।

कसरी पर्याे उजुरी

नगरपालिकामा असिस्टेन्ट सब–इन्जिनियर पदमा करार सेवामा कार्यरत मोहन शाहले आफ्नो करार म्याद थप गर्न नगरप्रमुख वादीले माग गरेको भन्दै यसअघि आफुले एक लाख रुपैयाँ दिई सेवा नवीकरण गराएर निरन्तर गराएकाे बताएका छन। त्यस अनुसार शाहले नगरप्रमुखको खातामा जम्मा गरिएको रकमको बैंक भौचर समेत प्रमाणका रूपमा पेश गरेका थिए।

उजुरी अनुसार आर्थिक वर्ष २०८२/०८३ मा पुनः करार नविकरणका लागि फेरि नगर प्रमुख मेयरले एक लाख रुपैयाँ मागिएको र नगद उपलब्ध गराउन नसकेपछि आफ्नो करार म्याद थप नगरी बर्खास्त गरिएको दाबी सहित शाहले अख्तियारमा उजुरी पेश गरेका हुन।

सोही उजुरीका आधारमा आयाेगले अनुसन्धानपछि मेयर वादी र शाहले घुस लेनदेन गरेको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले जनाइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३ गते मङ्गलवार