भारतको हिमाचल प्रदेशमा आगलागी सहितको ग्यास सिलिन्डर बिस्फोटमा परि ९ जना नेपालीको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको बताइएको छ ।
मृत्यु हुनेमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाको छोरा राजन विक रहेका छन् ।
यसैगरी अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उहाँकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विकको पनि मृत्यु रहेका छन।
भारतको हिमाचल प्रदेशस्थित सोलन जिल्लाको अर्की बजारमा मंगलबार बिहान सबेरै ग्यास सिलिन्डर विस्फोटपछि भीषण आगलागीमा उनिहरुकाे मृत्यु भएको हाे।
प्रारम्भिक जानकारीअनुसार आगलागी राति करिब २ बजेदेखि ३ बजेको बीचमा उनिहरु बसोबास गर्दै आएको घरबाट सुरु भएको हो। जाडोबाट बच्न उनिहरुले जलिरहेको अङ्गीठी (ब्राजियर) घरभित्र ल्याएको र त्यसबाट निस्किएको चिङ्गारीले घरभित्र राखिएका ६–७ वटा लिकेज ग्यास सिलिन्डरमा आगो लाग्दा एकपछि अर्को विस्फोट भएको बताइएको छ।
सूचना पाउनेबित्तिकै जिल्ला प्रशासन, प्रहरी तथा दमकल विभागको टोली घटनास्थलमा खटिएको थियो। दमकल प्रयोग गरी धेरै घण्टासम्म आगो नियन्त्रणमा लिइएको हो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै घटनास्थल वरपरको क्षेत्र सिल गरिएको छ।
अधिकारीहरूका अनुसार आगलागीको वास्तविक कारणबारे विस्तृत छानबिनपछि मात्र पुष्टि हुनेछ। तर प्रारम्भिक अनुसन्धानले अङ्गीठी र त्यसपछि भएका ग्यास सिलिन्डर विस्फोटलाई मुख्य कारण मानेको छ।