असोज ५ सल्यान – पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रिय रहेको प्रहरीले सल्यानमा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । इलाका प्रहरी कार्यालय रागेचौरको आयोजनामा आईतबार रागेचौरमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी प्रमुख अतिथि रहेका थिए । सो अवसरमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकी र उपाध्यक्ष लालबहादुर रावत लगायतको विशेष अतिथिका रूपमा उपस्थित रहेको थियो ।
यसैगरी कार्यक्रममा पूर्व अध्यक्ष दिलमाया बुढामगर, पूर्व उपाध्यक्ष डिल्लीराज जैशी, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावत, स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो ।
सहभागीहरूले कुनै पनि कार्य गर्दा समस्या परे संवादमार्फत समाधान खोज्नु पर्ने आवश्यकता औंल्याउँदै नागरिक सुनुवाइ कार्यक्रम निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका क्रममा ९० वर्षीय बुङ्चो रावत, ८८ वर्षीय दिलु राना, ८६ वर्षीय प्रेमबहादुर भारती र ८५ वर्षीय कुली खत्रीलाई नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो। उनीहरू सबै वडा नं. ३, रागेचौरका बासिन्दा हुन् ।
त्यस्तै, गत शैक्षिक सत्रमा एसईई (SEE) मा उत्कृष्ट हुने जनता माविका इन्द्रबहादुर विक, अमृत राना, स्मृति शाही र बुद्ध जनकल्याण माविका रति थापालाई पनि सम्मान गरिएको थियो। साथै कक्षा ८ मा उत्कृष्ट हुने सरस्वती माविका चेतन थापा र बाल जागृति आविकी सुनिता बुढाथोकीलाई समेत सम्मान गरिएको हो ।
प्रहरी नायब उपरीक्षक तथा सल्यान प्रहरी प्रमुख हेमबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक तथा इलाका प्रहरी कार्यालय रागेचौरका प्रमुख धर्मेन्द्र खड्काले गर्नुभएको थियो ।