दाङकाे घोराही उपमहानगरपालिका -८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहले आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाएकाे भन्दै घोराही उपमहानगर प्रमुख नरुलाल चौधरी, उप प्रमुख हुमा डिसी सहित कार्यपालिकालाई विपक्षी बनाई उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका छन।
गत २ गते कार्यपालिका बैठकमा उपस्थित हुन पुगेका तत्कालीन वडा अध्यक्ष शाहलाई नगर प्रमुख नरुलाल चौधरीले राजिनामा स्वीकृत भइसकेको भन्दै बैठकमा प्रवेश गर्न दिएका थिएनन भने कार्यापालिका बैठकले वडा सदस्य चुडामणी चौधरीलाई कार्यवाहक जिम्मेवारी दिएको थियाे।
तत्कालीन वडा अध्यक्ष शाह एमालेबाट निर्वाचित भएका थिए। काम गर्दै जादा उपमहानगरले वडाकाे काममा नसघाएकाे, प्रयाप्त बजेट नदिएको भन्दै काम गर्ने वातावरण नभएपछि एमाले पार्टी परित्याग गरि स्वतन्त्र रहेकाे र वडा अध्यक्षबाट समेत राजिनामा दिएका थिए। शाहले २०८० असार ११ गते राजिनामा बुझाएका थिए। त्यसबेला नगर प्रमुख चौधरीले राजिनामा हस्ताक्षर नभएको भन्दै अस्विकृत गरि काममा फर्कन निर्देशन दिएका थिए। दुई वर्ष देखि विचाराधीन जस्तै रहेको शाहकाे राजिनामा एकाएक गत २ गते स्वीकृत भएकाे नगर प्रमुख चौधरीले बताएका थिए।
अहिले शाहले कानुन विपरीत प्रक्रियाबाट आफू माथि अन्याय मात्रै नभई मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै कानुन बिपरितको कदम रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरमा रिट दर्ता गरेका छन । उनले आफुलाई एक पटक पनि सफाईको मौका नदिई एकाएक अन्याय गरेर राजिनामा दिएको पनि दुइ बर्षपछि राजिनामा स्विकृत गरेको जनाउदै कुनै कानुनि पनि प्रकृया पुरा नगरि आफुलाई पदबाट हटाई कार्यबाहक अध्यक्ष तोक्ने काम भएकाले उक्त निर्णय बदर गरि आफुलाई पुर्बवत जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दायर गरेको शाहले बताए ।
यद्यपि उनले अब आफुले एमालेको सदस्यता फेरि नलिने र सो पार्टीमा नफर्कने बताएका छन तर बाकी कार्यकाल पुरा गर्ने माग दावि अदालतमा राखेका छन।
गत २ गते तत्कालीन वडा अध्यक्ष शाह कार्यपालिका बैठकमा जादा नगर प्रमुख चौधरी गेट आउट भन्दै प्रवेश राेक लगाएको उनी बताउछन्। आफु कार्यपालिका बैठकमा सहभागी हुदा नगर प्रमुख चौधरीले रिसाएर आउट भनेपछि धन्यवाद भन्दै फर्केको भन्दै वडा अध्यक्ष शाह भन्छन: `कार्यपालिकाको बैठक ७ बजे थियो म बिहान ५ बजे घोराही १५ मा रहेको तरकारी बजार पुगेर त्यहाँको समस्या बुझे अनि कार्यपालिकाको बैठकमा भित्र बस्न खोज्दा नगर प्रमुख ज्यू ले रिसायर बस्न पाउनुन आउट भन्नु भयो मैले सोधे किन मेयरसाब, तपाईको २०८०/३/ ११ गते दियको राजिनामा पत्र अनुसार स्विकृत भईसक्ययो, मैले भने आाज आएर किन तपाई त साईन (हस्ताक्षर) छैन भन्नु भको हैनर? धेरै बोल्ने हैन बाहिर निस्कीनुस भनेपछि म हस घन्यबाद दिएर निस्केको छु।´ उनले भने।
राजिनामा दिएको २ वर्ष सम्म स्वीकृत नभएको राजिनामा एकाएक स्वीकृत भएको भन्दै वडा अध्यक्ष शाहलाई पदमुक्त गरेपछि अहिले याे विषयले सामाजिक सञ्जाल र स्थानीय रुपमा समेत आलोचना र प्रशंसाकाे पेचिलाे बहस बनेको छ। पदमुक्त भएका वडा अध्यक्ष जनप्रिय जनप्रतिनिधिकाे रुपमा चिनिन्छन। उनले रातदिन नागरिकको गुनासो सम्बाेधन गर्दै तत्काल फिल्डमा आफै खटिएर काम गर्ने गरेका छन। पछिल्लो समय उनकाे काम देखेर आगामी निर्वाचनमा नगर प्रमुखको रुपमा शाहलाई स्थानीयले देख्न चाहेको र नगर प्रमुखको तयारी गर्न स्थानीयले सुझाव दिइरहेका छन।