राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ लगिएको छ।
लामिछानेलाई लिएर बुध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे मात्रै उडेको विमानस्थलले जनाएको छ। उनको सुरक्षाका लागि विशेष तयारीसहित विमानस्थल पुर्याइएको थियो। १२६ दिन भैरहवा कारागारमा बिताए।
भैरहवा विमानस्थलमा दुई मिनेट मात्रै रास्वपका नेता संग बाेल्दै उनले भने “पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँगै माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।”
“भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।”
“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।” “म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब यहाँ कृष्णहरू जन्मिने छैन। तर जन्मेकाहरूले नै कृष्ण झैँ बन्नुपर्नेछ।”
“४६३ दिन पहिले एक जनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।” “तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे हुँ।”