कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा पहिलोपटक इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक दिपेश राईले बताए।
ति महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या रहेकाे र उनी एक साताभन्दा लामो समयदेखि बिरामी रहेको पाइएको छ।
कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।तीमध्ये एक जनाको ज्यान गएको हो हाे। सङ्क्रमितमध्ये झापाका ४ जना र मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे रेकर्ड अनुसार २०८० वैशाख २१ गते गण्डकी प्रदेशका एक ४७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणको कारण मृत्यु भएको थियो । त्यसयता कोरोना सङ्क्रमणबाटै मृत्यु भएको घटना रेकर्डमा थिएन ।