स्वास्थ्य सेवालाई नागरिक माझ सहज रूपमा पुर्याउन अस्पताल तथा स्वास्थ्य संस्थाको सेवालाई नागरिकमैत्री बनाउने उद्देश्यले प्रदेश भित्रका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूको सेवा र लाग्ने शुल्क सबैले थाहापाउने गरी सार्वजनिक गर्न लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले निर्देशन गरेको छ।

मन्त्रालयबाट पठाएको निर्देशनको पालना अस्पताल तथा स्वास्थ्य संस्थाले गर्न थालेको समेत पाइएको हो । प्रदेश मातहतका सबै सरकारी अस्पतालहरूमा शुल्क सहितको नागरिक वडा पत्र राखिएको र निजी अस्पतालहरुले पनि मन्त्रालयको निर्देशन अनुसार शुल्क सहितको नागरिक वडा पत्र राख्न थालेका मन्त्रालयले जनाएको छ।

अस्पताल तथा स्वास्थ्य संस्थाहरूले सेवाग्राहीले सहज रूपमा देख्न, पढ्न सक्नेगरी नागरिक बडापत्र टाँसेपछि ‘स्वास्थ्य संस्थाको टिकट काउन्टरदेखि ल्याब, एक्सरे लगायतका सेवा लिँदा लाग्ने शुल्क सेवाग्राहीले सहजै थाहा पाउन सक्ने र सेवाग्राही ठकिनबाट समेत जाेगिने हुदा समग्र स्वास्थ्य सेवालाई सुधार गर्न सकिने लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए।

प्रदेश स्वास्थ्य संस्था स्थापन, सञ्चालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ को दफा २४ मा स्वास्थ्य संस्थाले सेवा शुल्क सहितका नागरिक बडापत्र अनिवार्य रूपमा सार्वजनिक गर्नु पर्ने उल्लेख गरे अनुसार अहिले त्यही व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले निर्देशन जारी गरेपछि कार्यान्वयन हुन थालेको हो । तहगत स्वास्थ्य संस्थामा उपलब्ध सेवा–सुविधाहरू तथा सेवा शुल्क अनिवार्य रूपमा आम जनताले देख्न सक्नेगरी सार्वजनिक स्थानमा राख्न तथा वेबसाइटमा प्रकाशित गर्नुपर्ने र उक्त कार्य सम्पन्न गरी मन्त्रालयमा स–प्रमाण पठाउन निर्देशन जारी गरिएको थियो ।

प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार