सुनछहरी गाउँपालिकामा बजार अनुगमन गरिएको छ।

गाउँपालिकामा रहेको समितिद्वारा गाउँपालिका भित्रका वडाहरुमा बजार अनुगमन गर्दा ६० हजार ८ सय ७१ रुपैयाँ बराबरको म्याद गुज्रेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।

दुई चरणमा गरिएको बजार अनुगमनमा १४१ वटा पसलहरु अनुगमन गरिएको बजार अनुगमन समितिका सदस्य एवम् गाउँपालिका राजश्व शाखा प्रमुख नवराज रोकाक्षेत्रीले बताए।

पहिलो चरणमा ४ नं. वडा सिउरी चौतारी, चैते थान र प्रेमचित्रमा  १७ वटा पसलहरु र ६ नं. वडा फगामको फगाम, भलबाङ र ढुङसीमा २५ वटा पसलहरु र ५ नं. वडा जैमाकसलाको जुवाङ, राढुङ, कसला, मावाङ, हाम्जा र नारवाङमा ४९ वटा पसलहरु अनुगमन गरिएको र दोस्रो चरणमा ७ नं वडा जेलबाङको रुलवाङ, खिवाङ, चरलाउने, ठुलो गाउँ जेलवाङमा २७ वटा पसलहरु र १ नं वडा सेरम फुलिवन र घुस्बाङमा  २३ वटा पसलहरु अनुगमन गरिएको बजार अनुगमन समिति संयोजक गुमानसिंह बिष्टले बताए।

बजार अनुगमन कार्य अन्तर्गत गाउँपालिकाभित्र रहेका विभिन्न होटल तथा नास्ता पसल, किराना पसल, मदिरा पसल, सिलाई कटाई पसल, फेन्सी पसल, साना घरेलु उद्योग लगायतका अन्य व्यवसाय संचालन गरिरहेका स्थानमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा व्यवसाय दर्ता तथा नवीकरण समयमै नगरेकोले सम्पूर्ण व्यवसायीहरुलाई १ महिना भित्र व्यवसाय दर्ता तथा नवीरकण गर्न निर्देशन दिनुको साथै विभिन्न होटल नास्ता पसल साथै किरान पसलले अन्त शुल्कमा दर्ता नभई मदिरा विक्री वितरण गरेको पाइएकोले तत्काल अन्त शुल्कमा दर्ता गरी मात्र मदिरा विक्री गर्न निर्देशन गरिएको छ । गाउँपालिकामा  विभिन्न व्यवसायीहरुले मूल्य सूची नराखेको, साईनवोर्ड नराखेको, विलिङ प्रकृया फितलो रहेको, म्याद नाघेका उपभोग्य सामानहरु राखेको जस्ता कार्यहरु भेटिएकोले अव यस्ता कार्यहरु नगर्न र नगराउन जानकारी दिइएको बजार अनुगमन संयोजक बिष्टले बताए ।

केही व्यवसायीहरुले गाउँपालिकामा व्यवसाय दर्ता तथा नवीकरण गरेको तर करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर नलिएकोले तत्काल १ महिना भित्र सो नम्बर प्राप्त गरि व्यवसाय संचालन गर्न निर्देशन दिनुको साथै दोहोरो कर सम्बन्धमा व्यवसीहरुलाई जानकारी गराइएको छ । गाउँपालिका भित्र संचालनमा रहेका व्यवसाय दर्ता तथा नवीकरण समयमै नगरेकोले सम्पूर्ण व्यवसायीहरुलाई १ महिना भित्र व्यवसाय दर्ता तथा नवीरकण गर्न निर्देशन गरिएको संयोजक बिष्टले बताउनुभयो ।साथै दोहोरो कर सम्बन्धमा व्यवसायीहरुलाई जानकारी समेत दिइएको छ ।

अनुगमन सँगै घुम्ती सेवा शिविर

सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीहरुको सहभागीतामा सुनछहरी गाउँपालिकाले बजार अनुगमन कार्य सँग सँगै गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाह समेत गाउँ टोलबाटै प्रदान गरिएको  छ ।

घुम्ती सेवाबाट योजना कार्यान्वयन सम्बन्धी उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण,बजार अनुगमनको क्रममा दर्ता नभएका व्यवसायको दर्ता, नवीरकण गर्न बाँकी व्यवसायको नवीकरण, दर्ता र नवीकरण दुवै गरेका तर स्थायी लेखा नम्बर नलिएका व्यवसायीहरुलाई करदाता सेवा कार्यालयको लागि सिफारिस, राजश्व संकलन गर्ने कार्य समेत गरिएको गाउँपालिका राजश्व शाखा प्रमुख रोकाक्षेत्रीले बताए।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार