गाडीको सुविधाले गाउँगाउँ र कुनाककुनाका बासिन्दाहरुलाई सुविधा भएको कुरा निकै ख्याल गरिन्छ। तर गाडीको पांग्राले एकठाउँको झारको बीउ, किराका अण्डा वा लार्भा तथा रोग अर्कोठाउँमा सारेको हुन्छ। यसतर्फ कसैको पनि ध्यान गएको र मतलब गरेको पाइँदैन। २०४० सालसम्म रोल्पाको खुंग्रीमा नदेखिएको ठूलो खालको चरिअमिली झार अहिले बारीभरि नै फैलिदैआएको छ। यसको गानो अर्थात् जरामा हुने गिर्खा निकै तलसम्म पुग्ने हुँदा यसलाई निमिट्यान्न पार्न मुस्किल पर्छ। प्यूठानको तिराममा कुनै बखत राजाको सवारी हुँदा राजालाई अचार खुवाउनका लागि कतैबाट यो चरिअमिली ल्याइएको र त्यतैबाट प्यूठानमा फैलिएको भन्ने भनाई पनि सुनिन्छ। तर सत्यता के हो त्यो त सोधखोजले नै बताउला। अहिले यो चरिअमिली झार रोल्पामा पनि फैलिएको पाइन्छ। तर यो झारको सेवनले स्वास्थ्यलाई फाइदा गर्ने कुरा विज्ञहरु बताउँछन्। तर गाउँघरका यसलाई सेवन गर्ने कुरामा वास्ता भने गरिँदैन।
रोल्पातिर धान काट्दा सानाखालका शंखेकिराका अवशेष अर्थात् हड्डी देखिनेगर्छन्। हालका दिनहरुमा बर्खामा ठूला आकारका आँपको फल जत्रा शंखेकिरा पनि देखिन्छन्। त्यस्तै अहिले गाइवस्तुले नखानेखालका झारहरु पनि खुंग्रीमा देखिनथालेका छन्। बाटोको छेउँछाउँमा ज्यादा देखिने यो झारको नाम कसैलाई पनि थाहा छैन। कुनै झार त झन साह्रै नै गन्हाउनेखालका झारहरु देखिनथालेका छन्। गन्ध पनि विषालु झार नै हो कि भन्ने भान हुन्छ। एकताका रोल्पामा वनमारा झार निकै नै फैलिएर आयो। जसले बस्ती मात्र होइन वनभरि नै फेलियो। कतैकतै यसलाई पेलेर आयुर्वेदिक औषधी बनाएर पनि विक्री गर्नेगरेको समाचार पनि आएको थियो।
बन्सो, राउन्ने, मोथे त बारीमा भैरहने रैथाने घाँसहरु हुन्, जुन दुहुना गाईभैँसीका लागि निकै लाभकारी र दुध धेरै आउने घाँसमा पर्दछन्। गेँजरी पनि दूध धेरै आउने खालको झार वा घाँस हो। माघदेखि गहुँबारीमा गेँजरी गोड्ने चलन धेरै पहिलेदेखिको हो। चैतदेखि भने गेँजरीले कोसा हाल्नथाल्छ अर्थात् फल्नथाल्छ। गेँजरीको कोसालाई कुत्लेकोसा पनि भनिन्छ। यो कोसा उसिनेर, भुटेर तथा काँचै पनि खानसकिन्छ।
सवारी साधन अर्थात् गाडीको चक्कामा टाँसिने हिलो-माटो एकठाउँबाट अर्कोठाउँमा गएर झर्ने वा खस्ने हुँदा त्यो माटोमा रहेका नौलाखालका झारका बीउ र किराका अण्डा वा लार्भा पनि झर्ने हुँदा गाउँमा कहल्यै नदेखिने किराहरु देखिनेगर्द र फैलिने गर्छन्। बालीनालीमा फैलिने विभिन्न रोगहरुका जिवाणुहरु पनि गाडीको चक्कामा टाँसिएर ओहोरदोहोर गर्दछन् र फैलिन्छन् एकठाउँका रोगहरु अर्को ठाउँमा। रोल्पाको खुंग्रीमा पहिले पहिले पाकेको आँपको भित्रपट्टी कालो भाग देखिदैनथ्यो र कुनै कुनैमा किरा नै हुने समस्या देखिदैनथ्यो, जुन अहिले यस्ताखालका रोग र किरा देखिनथालेको पाइन्छ। रोल्पाको खुंग्रीस्थित यस लेखकको बारीको छेउँमा अर्थात् कल्लेरीमा २०४० सालसम्म मनग्यै केराका बोटहरु थिए र घरमा कहिल्यै पनि केराको हर्जा हुँदैनथ्यो। धेरै केरा पाक्नथालेमा खाईनसकेर चाना बनाएर घाममा सुकाइन्थ्यो, जुन बेमौसममा खानका लागि प्रयोग हुन्थ्यो। त्यो चाना निकै नै स्वादिलो हुनथ्यो। अहिले खुंग्रीमा कताकतै मात्र केराका बोटहरु देखिन्छन्। तर कुनैको टुप्पो कुहिएर पसाउन समेत सकेका देखिदैनन्। ।
सुन्तला ज्यादै फल्ने सदरमुकाम लिबाङमा अहिले सुन्तला खासै फलेको देखिँदैन। बजारमा अन्यत्र गाउँबाट सुन्तला आउनेगरेको छ। काठमाडौँमा पाइने सुन्तलाभन्दा रोल्पाका सुन्तला धेरै गुणस्तरीय हुन्छन्।
सवारी साधनको सुविधाले धेरैलाई फाइदा त भएको छ। तर सवारी साधनकै कारण गाउँगाउँमा फलफूल तथा बालीनालीमा नकारात्मक असर पर्नगएको कुरा सत्य नै हो। जलवायु परिवर्तनको असर त एकातिर छँदैछ। कतै अतिवृष्टि हुने कतै अनावृष्टि हुने समस्याको मुख्य जड नै जलवायु परिवर्तन हो। जलवायु परिवर्तनलाई रोक्नका लागि त आधुनिकिकरणलाई नै रोक्नुपर्छ। तर त्यो सम्भव नै छैन। आधुनिकिकरणले अरु प्राणीहरुलाईभन्दा मानिसलाई नै धेरै सुविधा र फाइदा भएको छ। आधुनिक जीवनसैलीका कारण भने मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। बढी आराम गर्ने, तयारी खानेकुरा किनेर घरमा ल्याएर खानेगर्नाले स्वास्थ्य रोगको खानी हुँदैगएको छ। रोगको उपचारका लागि ऋण काढेर भए पनि पैसाको जोहो गर्नुपरेको छ। गाउँघरमा पहिले ढिँकीको सहायताले धानलगायतका अनाज कुट्ने, चाँखी अर्थात् जाँतोको सहायताले अनाजहरु पिस्ने गरिँदा प्राकृतिक रुपमै थेरापी अर्थात् ब्यायाम हुन्थ्यो। तर अहिले मीलहरुबाट सुख पनि आएको छ रोग पनि आएको छ भन्नुमा अत्युक्ति हुँदैन।
प्रांगारिक खाद्यवस्तुको सट्टा आयात गरिएका खाद्यवस्तुको सेवनले पनि उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पर्न गैरहेको छ। आधुनिक जीवनसैलीले उपभोक्तालाई फाइदाभन्दा पनि बेफाइदा बढी छ। गाउँमै उपलब्ध कर्कलो, डौँडे, निगुरो, भालुवापाते खान छाडेर बजारमा पाइने अन्यत्रबाट ल्याइएका तरकारी किनेर खानु राम्रो काम होइन। बेमौसमका तरकारी र फलफूलतिर त झन जोड दिनु नै हुँदैन। प्राकृतिक नियम अनुसार मौसम अनुसारका फलफूल र तरकारी खानुपर्छ। जुन स्वास्थ्य अनुकूल हुनेगर्छ।