नेपाल पहिले कृषिप्रधान देशको रुपमा रहँदा धेरै उपभोग्य वस्तुहरुमा आत्मनिर्भर थियो। पछिल्लो समय देश आत्मनिर्भर हुने क्रम घट्दैगएको पाइन्छ। काठमाडौँलगायत वाहिरका साना शहर बजार समेत राष्ट्रिय उत्पादनलेभन्दा पनि विशेषगरि दुई छिमेकी मुलुकबाट आयातीत सामानहरुले ढाकेको पाइन्छ। स्याउ भारत र चीनबाट बढी आउँछ भने नेपालका हिमाली भेगमा उत्पादित स्याउले बजार नपाएर तथा यातायातको असुविधाका कारण ढुवानी गर्न नसकिएर त्यसै कुहिएर खेर जाने गरेको पाइन्छ।
२०४० सालदेखि २०५०।५१ सालसम्म गाउँगाउँबाट बेच्नका लागि काठमाडौँ उपत्यकामा स्थानीय स्तरमा उत्पादन गरिएका अनारहरु देखिन्थे। ती अनार भारतबाट आयात गरिएका अनारभन्दा ठूला र हल्का हरिया रङका हुन्थे। खाँदा गुलियो अमिलो दुबै स्वाद मिश्रित हुन्थ्यो। सायद सक्कली भएर तथा पोषणयुक्त भएर होला। अनारका कुनैकुनै दाना पट्ट फुटेर दाँत देखाएर हाँसेका झैँ लाग्ने ती नेपाली अनारहरुको मूल्य पनि कम थियो। हाल नेपालकै गाउँघरबाट त्यसरी स्थानीय स्तरका अनारहरु काठमाडौँमा आउन छाडेका छन्।
भारतबाट ल्याइएका अनारको भाउ कहिलेकाहीँ किलोको ४५० रुपियाँसम्म पुग्नेगरेको छ। अहिले भने किलोको ३७५ मा पाइन्छ। फोटोमा देखिएको अनार यो लेखकले १२५ रुपियाँमा किनेको हो। केही समयअघि २६५ रुपियाँमा एउटा बेल किनेको प्रसंग पनि जनसहारा मिडियाबाटै प्रकाशन भएको थियो।
हामी सानो छँदा रोल्पाको खुंग्रीमा रहेको हाम्रो बगैँचामा नासपाती, मेवा र अनार फल्न सकेनन्। अम्बा, आँप , अमिलो र कागती चाहीँ हाम्रै बगैँचामा फल्थे। अनार र नासपाती टिपेर खानको लागि हामी कहिलेकाहीँ सुवेदीटोलमा जान्थ्यौँ त कहिले विचारीटोलमा जान्थ्यौँ। मेवा पनि अन्यत्रबाटै प्राप्त गर्थ्यौँ। गुलियो अनारलाई अनार नै भन्थ्यौँ भने अमिलो अनारलाई दारिम भन्थ्यौँ। एक ठाउँमा चुकादारिम नाम गरेको अनार थियो। त्यो बोटमा केटाकेटीहरु झुम्मिदैनथे, किन कि त्यो दारिम ज्यादै अमिलो थियो।
काठमाडौँमा एककिलोको एउटा बेलको तीनसय रुपियाँसम्म पर्छ भने एउटा ठूलो अनारको एकसय पच्चिस रुपियाँ पर्छ भन्ने कुराको साक्षी यो लेखक पनि हो। काठमाडौँमा एउटा फलको मूल्य यति धेरै पर्छ भन्दा जो कोहीलाई पनि अचम्म लाग्नसक्छ। यस्ता कैयन उपभोग्य वस्तुका मूल्यका कुराहरु वाहिर प्रकाशमा नआएको मात्र हो। राजधानी काठमाडौँमा कतिपय वस्तुहरु काठमाडौँवाहिरका शहरहरुको भन्दा दोब्बरसम्म महंगो हुनेगरेको पाइन्छ। भारतबाट आयातीत अनारले पनि काठमाडौँलगायत वाहिरका शहरहरुमा राम्रै बजार पाएको छ। स्वदेशका अनारहरुप्रति बेवास्ता र भारतीय अनारलाई महत्व दिइनु बिडम्बनाको विषय हो। देश अहिले धेरै चिजवस्तुहरुमा परनिर्भर अर्थात् आयातमुखी भैसकेको छ, जुन चिन्ताको विषय हो।
परापूर्वककालदेखि नै अनारलाई फलाहारका साथै औषधीका रुपमा पनि लिइन्छ। वैज्ञानिक अनुसन्धान अनुसार अनारलाई ब्याक्टेरिया र भाइरस नाशकको रुपमा लिइन्छ। अनारको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रक्तसञ्चार सहज रुपमा भई मुटुलाई समेत सही हालतमा राख्न मद्दत गर्छ। ट्युमर, क्यान्सर, प्रोस्टेट निर्माणमा समेत अनारले केही हदसम्म नियन्त्रण गर्छ। अनारलाई प्रोटिन, चिल्लो, क्याल्सियम, फस्फोरस, आइरन र भिटामिन सिको स्रोत मानिन्छ भने यसमा फाइबर र भिटामिन बि पनि पाइन्छ।
अनार लगायत नेपालमा कैयन फलफूलहरु अन्य मुलुकहरुबाट आयात हुनु र स्वदेशमा उत्पादित चिउरी, तिँदू, तित्री वा इमली जस्ता रैथाने फलफूलप्रति उपभोक्ताको चासो नहुनुले पनि विदेशी फलफूलहरुले बढावा पाएको स्पष्ट हुन्छ। साथै अनाज अन्तर्गतका मकै, कोदो, फापर समेत भारतबाट आयात हुनु साह्रै दुःखको कुरा हो। नाइजेरियाको मकै राजधानीमा किलोको १७० रुपियाँमा विक्री हुन्छ। देशका गाउँगाउँका युवाहरु रोजगारका लागि खाडी मुलुकमा जानथालेपछि खेतबारीहरु बाँझो हुनथालेको छ।
ड्राइफ्रुट्स र मसलाहरु महंगोमा आयात हुँदा विदेशी मुद्रा वाहिरिनु देशको अर्थतन्त्रको नकारात्मक पक्ष हो। त्यस्ता वस्तुहरु पनि स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गरिदिनु सरकारको कर्तब्य हुनआउँछ। यसो भएमा युवाहरु रोजगारीका लागि विदेशिनु पर्ने अवस्था कम हुनेमा दुईमत छैन। नेपालमा अनारको खेती गर्नका लागि सम्वन्धित निकायहरुले ध्यान दिनु जरुरी छ। अनार मात्र होइन आयात हुने कैयन प्रकारका फलफूलका साथै विभिन्न तरकारी खेती नेपालमै गर्न सकिने अवस्था छ। हिमालदेखि तराईसम्म फरकफरक हावापानी भएकोले नेपालमा थरिथरिका फलफूल, तरकारी र मसलाहरुको खेती गर्न गाह्रो छैन। यसतर्फ सरकारको ध्यान जानु जरुरी छ।