मैले २०४० सालमा पाइला टेकेको केहीदिनपछि काठमाडौँको नयाँसडकस्थित रञ्जना सिनेमा हलमा हिन्दी सिनेमा ‘खुदा कसम’ हेरेको थिएँ। त्यसैसालमा भुवन केसी र मिनाक्षी आनन्द अभिनित नेपाली सिनेमा ‘जुनी’ हेरेँ। तर पनि मलाई सिनेमा भनेको के हो थाहा थिएन। २०४१ सालमा अशोक सिनेमा हल पाटनढोकामा नेपाली सिनेमा ‘बाँसुरी’ हेरेँ। जसमा प्रायजसो दार्जिलिङका कलाकारहरुले अभिनय गरेकारहेछन्। त्यसपछि मैले नबुझे पनि हिन्दी सिनेमाहरु एकपछि अर्को हेर्दैगएँ र बुझ्दैगएँ। नेपाली सिनेमा ‘जीवन रेखा’ ‘सिन्दुर’ र ‘कान्छी’ राम्रा लागे। ती सिनेमाहरु राम्रो लागेपछि दोहोर्याुएर तेहेर्याछएर पनि हेरेँ। बाटोमा कतै कतै अभिनेताहरु शिव श्रेष्ठ र भुवन केसीलाई देख्दा ठूलै उपलब्धि हासिल गरे झैँ लाग्थो। २०४१।४२ सालतिर हाँस्यअभिनेता हरिवंश आचार्यसँग परिचय र एकछिन कुराकानी मात्र भयो डिल्लीबजारको ओरालोमा रहेको नेपाल स्टक एक्सचेञ्जको कार्यालय परिसरमा। हाल केही सिनेकर्मीहरुसँग हेलमेल भैरहँदा नेपालमा कलाकारहरुलाई सरकारबाट खासै प्रोत्साहन दिननसकेको कुरा बुझिन्छ। विकसित मुलुकमा त के भारतमा समेत खेलाडी र कलाकारहरुको ठूलो सम्मान छ र प्रोत्साहन पनि छ।

कला क्षेत्रमा लागेर देशका लागि केही गरौँला भनेर राजधानी छिर्ने मोफसलका कलाकारहरुले जति संघर्ष गरे पनि खासै सफलता हासिल गरेको देखिदैन। यस्तै कलाकार अर्थात् सिनेकर्मीमा पर्नुहुन्छ रोल्पा जिल्लाको तत्कालिन खुंग्री पञ्चायत र साविक खुंग्री गाविसमा विसं २०२५ साल चैत्र २५ गते जन्मनुभएका बहुप्रतिभाशाली कलाकार ओम प्रतीक। वहाँले भारतको मुम्बईबाट बि.ए. पास गर्नुभएको हो। मुम्बईमा पनि रंगमञ्च कलाकार भएर काम गर्नुभएका ओमले २०४८ सालदेखि काठमाडौँलाई कर्मथलो बनाएपछि सोंही सालदेखि रंगकर्मी भएर काम गर्नुभयो। नेपाल प्रज्ञाप्रतिष्ठानमा वहाँले मञ्चन, अभिनय र निर्देशन गर्नुभएको ‘सिसकते किनारे’ हिन्दी नाटक पनि चलेको थियो। काठमाडौँ छिर्नासाथ यति उल्लेखनिय काम गर्नु सजिलो भने थिएन। यो ओमको आँट र हिम्मतले चलेको थियो।

फिल्मको कथा लेखनः चेली, ढुकढुकी, इज्जत, बाबुसाहेब, गोधुली, कर्म, अर्जुन, अंगरक्षक, तिम्रो माया उनान्सय मेरो माया सय, फर्कि आऊ, यो कथा हो तिम्रो मेरो, बटरफ्लाई, हली
टेलिफिल्मको कथा लेखनः कात्रो, झुपडीको खुशी, मोड, पथभ्रष्ट, अदृश्य गाउँ (अभिनयमात्र) शिसा
निर्देशित चलचित्रः तिम्रो माया उनान्नसय मेरो माया सय, फर्की आउ, यो कथा हो तिम्रो मेरो, बटरफ्लाई, हली

निर्देशित टेलिसिरियलः
नेपाली चलचित्रमा ओमले गरेका योगदानहरु यीलगायत अझ धेरै छन्। वहाँले लेखेको टेलिसिरियल ‘मोड’ र ‘पथभ्रष्ट’ नेपाल टेलिभिजनले प्रशारण गरेको थियो। ‘मोड’ को पटकथा यस लेखकले टाइप गरेको अझै पनि सम्झना छ।

ओम प्रतीकले प्राप्त गरेका सम्मानहरुः
नेफ्टा- फर्किआउ
उत्कृष्ट सम्वाद लेखन- फर्किआउ।
उत्कृष्ट सहअभिनेता- २०६९
डि सेने अवार्ड
उत्कृष्ट सहअभिनेता- फर्कि आउ २०६९ ।
उत्कृष्ट अभिनेता- १९८९ मा अलइण्डिया नाट्य कम्पिटिशन ‘रात के अँधेरे मे’
स्वर्णपदक- भारत फिल्मी कार्यक्रम क्ल्याप ३०० इपिसोड।

ओम प्रतीकले कुनैबखत राजधानी काठमाडौँमा स्थापित रोल्पा विकास समाजको संस्थापक सदस्य भएर काम गरेको अनुभव पनि छ। साथै समाजको पछिल्लो समयमा भएको निर्वाचनमा उम्मेदबार पनि हुनुभएको थियो। २०७५ सालमा वहाँको उपन्यास ‘बदनाम बस्ती’ बजारमा आइसकेको छ। साथै कतिपय चलचित्रमा गीतहरु पनि लेख्नुभएको छ। ओमको कथामा आधारित चलचित्र ‘मोहर’ छायांकन हुने तयारीमा छ। ओम प्रतीक एक बहुप्रतिभाशाली ब्यक्तित्व हुनुहुन्छ। ओम एक रोल्पाली होनहार सिनेकर्मी हुनुहुन्छ भन्दा पनि केही फरक पर्दैन।

नेपाली फिल्मक्षेत्रको नाम सिनेमाण्डु राख्ने विषयमा कुरा भैरहेको छ। हलिवुड र बलिवुडको सिको गर्दै नेपाली सिनेमा क्षेत्रलाई कुनैबखत कलिवुड पनि भनिने गरिन्थ्यो। भारतीय सिनेमामा एउटा आइटम डान्सका लागि करोड दिइन्छ। तर नेपालमा सिंगो सिनेमा बनाउन करोड खर्च गर्नुपर्दैन। कतिपय कलाकारहरु चर्चामा आउनका लागि भए पनि सिनेमा खेल्ने गरेका छन्। कसैले त उल्टै खर्च गरेर सिनेमा खेल्नेगरेको कुरा विगत केही वर्षअघि एक सञ्चार माध्यममा आएको थियो। नेपालमा कलाकार र खेलाडीहरुले साइड जब गरेन भने बाँच्न मुस्किल पर्छ। साथै त्यसो नगरेमा घर परिवारमा समृद्धि पनि आउँदैन।

नेपालमा क अर्थात् कलाकार र ख अर्थात् खेलाडीहरुलाई खासै सुविधा छैन। विकसित मुलुकमा भने कलाकार र खेलाडीहरुको ठूलो सम्मान छ र जीवनयापनका लागि सरकारले केही गरेकै हुन्छ। नेपालमा भने क र ख वेवास्तामा पर्दैआएका छन्। त्यसैले सरकारी तवरबाट कलाकार र खेलाडीहरुलाई प्राथमिकतामा राखिनुपर्दछ। साथै प्रोत्साहन पनि गरिनुपर्दछ।

प्रकाशित मिति : २०८१ असार ८ गते शनिवार