गाउँघरका बासिन्दाहरुका अनुसार शहरबजारका मान्छे जान्नेसुन्ने र सभ्य हुन्छन् भन्ने सोचिन्छ। तर गाउँमा भन्दा सहरमा झन गञ्जागोल, एकअर्कामाथि अविश्वास, वेवास्ता, घृणा जस्ता कैयन कुराहरु बढी देखिन्छन्

गाउँमा सीमित फोहर हुन्छ र त्यसलाई मलमा परिणत गरिन्छ अर्थात् पात पतिंगर यत्रतत्र देखिएमा गोठको भकारमा राखिन्छ। सहरमा हेर्योछ भने गुट्खा र सूर्तिका अनि चुरोटका खोस्टाहरु यत्रतत्र देखिन्छन्। जसले गर्दा ढलमा थुनिन गई बेलाबेलामा ढल फुट्ने र दुर्गन्ध फैलिने हुन्छ। एक अर्थमा भन्नुपर्दा राजधानी काठमाडौँ ७७ जिल्लाको फोहर जम्मा हुने ठाउँ हो। वागमती, विष्णुमती, बुङमती, टुकुचा र धोबिखोलालगायतका अन्य खोलाहरुको नजिक पुग्नुभयो भने काठमाडौँ कति फोहर र प्रदूषित छ भन्ने कुरा थाहा पाइन्छ। घरघरमा रहेका सेफ्टी ट्यांकीमा जम्मा भएको फोहर ढल हुँदै ती नदिनालाहरुमा मिसिन जान्छन्। कसैकसैले त झन सेफ्टीट्यांकी बेगर ट्वाइलेटबाट सिधै ढलमा खसाल्ने गरेको पाइन्छ।

काठमाडौँवाहिरका शहरबजारमा पनि वातावरणमा असर पर्नेगरी फोहर देखिन्छ। सूर्ती, गुट्खा, चुरोटलगायतका वस्तुहरुका खोस्टा जहाँतहीँ देखिन्छन्। सूर्ति खाएर सडक छेउँमा जथाभावी थुक्ने र सिँगान फाल्ने क्रियाकलापले गर्दा पनि शहर बजार फोहर हुँदैगएका छन्। काठमाडौँको तुलनामा वाहिरका शहर बजारको वायुमण्डलमा धुलो र धुवाँको मात्र भने कमै हुन्छ। काठमाडौँमा ४१ वर्ष विताएको यो लेखकले तीसवर्षअघिदेखि नै मास्क प्रयोग गर्दैआएको छ। मास्क नलगाएको दिन वाहिरबाट घर फर्केपछि स्वास्थ्यमा समस्या देखिइहाल्छ। कतिपयले सोँच्नेगर्नुहुन्छ कोरोनाकाल सकिए पनि किन मास्क लगाएको होला? वास्तवमा त्यो होइन सहरमा रहँदा वाहिर हिँडडुल गर्दा मास्क अनिवार्य छ। मास्क प्रयोगले गर्दा गाडीहरुले फ्याँक्ने विषालु धुवाँले तपाइँको श्वासनली र फोक्सोमा असर गर्दैन। काठमाडौँका अस्पतालहरुमा धेरै विरामीहरुको समस्या प्रदूषणकै कारण भएको देखिन्छ।

कोलकाताको सिको गरेमा मात्र काठमाडौँ लगायत नेपालका अन्य शहरहरुमा प्रदूषण कम हुने देखिन्छ। कोलकातामा जहाँतहीँ थुकेमा कारवाही भोग्नुपर्छ। त्यहाँ चल्ने सवारी साधनहरु डिजेलबाट चल्ने भए पनि प्रदूषण फिटिक्कै देखिदैन। तर काठमाडौँमा पेट्रोलबाट समेत सवारी सधान चले पनि कोलकाताको तुलनामा धेरै प्रदूषण भएको पाइन्छ। काठमाडौँ शहरले कोलकाताबाट सिक्नुपर्ने दश वुँदाहरु यो लेखकले आफ्नो पुस्तक ‘ओगिल्जा’ मा समावेश गरेको छ। साथै लेखकले विभिन्न समयमा विभिन्न सञ्चार माध्यमहरुमा समेत यस विषयमा चर्चा गर्नेगरेको छ। शहरमा हुने प्रदूषणका प्रकारहरु यी हुन्-

जल प्रदूषणः
नदि नालाहरुमा फ्याँकिने फोहरबाट उत्पन्न हुने प्रदूषण नै जल प्रदूषण हो। नदिनालाको संरक्षणका लागि जथाभावी फोहर मिसाइनु हुँदैन। सहरबासीहरु यसतर्फ सजग रहनुपर्दछ। नदिनाला फोहोर भएमा जल प्रदूषणले जीवजन्तुहरुलाई अस्वस्थ बनाइदिन्छ।

वायु प्रदूषणः
गाडीहरुले फ्याँक्ने कार्बनयुक्त धुवाँ अर्थात् विषसहितको धुवाँ मानिसको फोक्सोमा पर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु आउने हुन्छ र अस्पताल धाइरहनुपर्ने तथा पैसा समेत खर्च गर्नुपर्ने हुन्छ। तसर्थ सहरमा मास्कको प्रयोग अनिवार्य छ। गाडीका टायरहरु घिस्रिएर खिइएर पातलिँदा माटोमा रबरका कणहरु र प्लास्टिकका टुक्राहरुका कणहरु हाम्रो फोक्सोमा पर्दछ र समस्या पैदा भई रोग निदानका विभिन्न विधिहरु वा प्रयोगशाला डायग्नोसिसको लागि खर्च गर्नपर्ने हुन्छ।

ध्वनी प्रदूषणः
शहरका बाटोको छेउँमा घर हुनेहरुले ध्वनी प्रदूषणको सामना पनि गरिरहनुपरिरहेको छ। कहिलेकाहीँ राती गुड्ने गाडीहरुले गर्दा निद्रा समेत राम्रोसँग नलाग्ने हुन्छ। अनिद्राकै कारण स्वास्थ्यमा समस्या आउँछ। त्यसैले ब्यवसायिक हिसावले मात्र बाटो छेउँमा घर बनाउनुपर्दछ। आवासिय हिसावले त्यसरी बाटोको छेउँमा घर बनाउँदा ध्वनी मात्र होइन वायु प्रदूषणको चपेटामा पर्नुपर्दछ।
वास्तवमा सहरको बसाइ भनेको गाउँको भन्दा जोखिमयुक्त छ। सहरमा पाइने तरकारी तथा फलफूलहरुमा विषादीको मात्रा भेटिन्छ। गाउँघरका खेतबारीमा उब्जाउ हुने तरकारी तथा अनाज स्वास्थ्यका लागि लाभदायक हुन्छन्। सहरमा उपलब्ध तरकारी, फलफूल तथा अनाज कृत्रिम हुन् भन्दा पनि फरक पर्दैन।
प्रदूषणका किसिमहरु अरु पनि छन्। यहाँ मुख्य तीन प्रकारका प्रदूषण बारे मात्र चर्चा गरिएको छ। आज विश्व वातावरण दिवसको दिनमा मात्र विभिन्न कार्यक्रम गरेर मात्र पुग्दैन। नागरिक समाज, राजनीतिक दल, गैरसरकारी संघ संस्थाहरु पनि वातावरण कसरी स्वच्छ बनाउने भन्ने बारे छलफल गरी उपायहरु निर्क्यौल गरेर सरकारलाई घच्घच्याउनु जरुरी छ। सरकारले पनि सम्वन्धित निकायहरुलाई आफ्ना संयन्त्रहरु प्रयोग गर्न लगाएर वातावरण स्वच्छ राख्न लगाउनु आवश्यक देखिन्छ।
सबै मिलेर वातावरण स्वच्छ राखौँ। विश्व वातावरण दिवसको उपलक्ष्यमा सबैमा शुभकामना!!!

प्रकाशित मिति : २०८१ जेष्ठ २३ गते बुधवार