पृथ्वीचन्द्र अस्पताललाई १ सय बेडमा विस्तार गर्नका लागि स्वास्थ्य मन्त्री पुनको प्रतिबद्धता

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री माननीय दिपेन्द्रकुमार पुन मगर सिजलले परासी स्थित पृथ्वीचन्द्र अस्पताललाई १०० बेडको अस्पतालमा रुपान्तरण गरी पढ्ने विद्यार्थीहरूबाट नै सेवा प्रदान गरे मात्रै दिगो हुने बताएका छन।

स्थानीय तह र सरकारलाई निकायले एकमतका साथ त्यो प्रस्ताव लिएपछि आफूले सो प्रस्तावलाई स्वीकृत गर्ने बताउदै अस्पताललाई १०० बेड बनाउनका लागि स्थानीय तह र राजनीतिक दल साथै अस्पतालले नै मुख्य भूमिका निर्वाह गर्न समेत मन्त्री पुनले पृथ्वीचन्द्र अस्पताल अस्पताल परिसरी भित्र नवनिर्मित ल्याब भवनको उद्घाटन गर्दै अनुरोध गरेका हुन।

पृथ्वीचन्द्र अस्पताल लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रका नागरिक तथा भारतीय नागरिकको सेवा क्षेत्र रहेकोले यसलाई विस्तार गर्न आवश्यक रहेको जाेड दिए । स्वास्थ्य मन्त्री पुन मगरले चितवनमा रहेको अस्पताल र बुटवलमा रहेको प्रादेशिक अस्पतालमा बिरामीहरूको चाप कम गर्न समेत यस अस्पतालले ठूलो योगदान गर्ने बताएका छन।

स्वास्थ्य मन्त्री पुन मगरले डाक्टरहरू अस्पतालमा नभेटिनु र राजनीतिक दलहरुले स्वास्थ्य क्षेत्रमा बढी राजनीति गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने र सो प्रवृत्तिलाई अन्त्य नगर्दासम्म नेपालका स्वास्थ्य क्षेत्रको समृद्धि नहुने पनि उनको भनाइ छ।

अस्पताल परिसरभित्र प्रदेश सरकारबाट निर्माण गरेको भवनलाई छिटै कार्य सञ्चालनका लागि योग्य बनाउनका लागि सबै लाग्न अनुरोध गर्दै साथै साथै सो भवन निर्माणमा लागेको निर्माण खर्च अभाव रहेको भन्ने अस्पतालको जानकारीमा मन्त्री पुनले सो बजेटको व्यवस्था गरिसकेको समेत बताएका छन।

केही समयअगाडि अस्पताल भवनमा आगलागी भएको र त्यसलाई व्यवस्थापन गर्नका लागि आफूले बजेटको व्यवस्था गरिसकेको र जनताको उपचार गर्दागर्दै केही समस्या भयो भने सत्यतथ्य कुरा बुझ्ने नागरिकको अधिकार रहेता पनि डाक्टरलाई हातपात गर्न नपाइनेमा समेत मन्त्री पुनले सबैलाई ध्यानाकर्षण सचेत बनाएका हुन।

लुम्बिनी प्रदेशको सबैभन्दा पूर्वी भूभाग नवलपरासीको पृथ्वीचन्द्र अस्पताल र सबैभन्दा पश्चिमी भूभाग बर्दिया अस्पताललाई स्वास्थ्य सेवामा समृद्धि बनाउनका लागि प्रदेश सरकार लागिरहेको पनि मन्त्री पुनले बताएका छन। कार्यक्रमका विशिष्ट अतिथि उद्योग तथा पर्यटन मन्त्री खड्क बस्नेतले पृथ्वीचन्द्र अस्पतालको विकासका लागि स्थानीय राजनीतिज्ञ जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले समेत समीक्षा गर्न आवश्यक रहेको बताउँदै यसका लागि आगामी दिनमा सबै एक भएर अगाडि बढ्न पर्ने बताए।

कार्यक्रममा प्रदेश सभा सदस्य स्थानीय तहका प्रमुख तथा प्रतिनिधि शिक्षा निकाय र सरोकारवालाको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार