तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विनिल केसी निर्वाचित भएका छन् । उनी यसअघि महासचिव थिए।

निर्वाचन समितिका संयोजक प्रबिण लम्सालका अनुसार तुलसीपुर उद्योग वाणिज्य संघमा कुल ३४७१ मतदाता मध्ये २९५३ मत खसेको थियो । सोमबार बिहान घोषणा भएको अन्तिम मत परिणाम अनुसार केसीले निकटतम प्रतिस्पर्धि गठबन्धनबाट उम्मेदवार बनेका ललितजंग शाहलाई २१० मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विनिलले १५५० मत ल्याउँदा ललितले १३४० मत प्राप्त गरेका छन् ।

काँग्रेसबाट टिकट नपाएपछि रुष्ट बनेका शाह बिद्रोह गरि नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगायतका दलहरु संग गठबन्धन गरि प्यानलसहित प्रतिष्पर्धामा थिए।

त्यसैगरी उद्योग उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार भएका विश्व बस्नेत निर्वाचित भएका छन् । उनले कांग्रेसबाट उम्मेदवार भएका हेमेन्द्र खड्कालाई ४४७ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । विश्वले १५९० र हेमेन्द्र ११४३ मत प्राप्त गरेका छन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार नरेशराज भण्डारी विजयी भएका छन् । उनले १५२० मत प्राप्त गरेका छन् भने कांग्रेसबाट उम्मेदवार बनेका खसशलराम शर्माले ११८७ मत प्राप्त गरेका छन् । उनीहरुबिच ३३३ को मतान्तर छ ।

खुल्ला उपाध्यक्षमा काँग्रेसबाट उम्मेदवार भएका देबबहादुर केसी विजयी भएका छन् । केसीले १५२० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार डिल्लीबहादुर वलीले १२११मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर ३०९ छ । केसी यसअघिका वाणिज्य संघको कोषाध्यक्ष हुन ।

महासचिव पदमा पनि काँग्रेसका केशवराज केसी विजयी भएका छन् । केसीले १५३० मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार नरेन्द्रकुमार डाँगीले १२०३ मत प्राप्त गरेका छन् । केसी र डाँगी बीचको मतान्तर ३२७ रहेको छ ।

कोषाध्यक्ष पदमा पनि काँग्रेसका रुपेश शर्मा विजयी भएका छन् । शर्माले १५२६ मत प्राप्त गर्दा गठबन्धनका शेषकान्त ढकालले ११४६ मत प्राप्त गरेका छन् । यी दुई बीचको मतान्तर ३६० रहेको छ ।

सचिवमा पनि काँग्रेसबाट उम्मेदवार नबिन राई विजयी भएका छन् । राईले ९६९ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार चन्दन वलीले ८४८ मत र गठबन्धनका भुपाल रावतले ६८२ मत प्राप्त गरेका छन् । राईले स्वतन्त्र उम्मेदवार वलीलाई १२१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

त्यस्तै सह–कोषाध्यक्षमा पनि काँग्रेसका दिपेश भण्डारी विजयी भएका छन् । भण्डारीले ११५६ मत प्राप्त गर्दा गठबन्धनका किशोरकुमार वलीले ११२३ मत प्राप्त गरेका छन् । उनीहरुका बीचको मतान्तर ३३ मात्रै रहेको छ ।

निर्वाचन परिणाम अनुसार खुला सदस्य तर्फ काँग्रेसबाट उम्मेदवार भएका सबै जना निर्वाचित भएका छन् । जसमा कोमल डिसी १४८९ , तिर्थबहादुर डाँगी १५१८ , माधव बस्नेत १४२१, शैलेन्द्रकुमार बुढाथोकी १३७२, सुवाश अधिकारी १२९४ मत प्राप्त गरि विजयी भएका छन् ।

महिला सदस्य तर्फ गठबन्धनबाट उम्मेदवार भएका विजयी भएका छन् । जसमा शारदा बस्नेत १२६७ र मिना रावतले १२८५ मत प्राप्त गरि विजयी भएका छन् । त्यसैगरी एशोसियत सदस्यमा सन्दिपन रिजाल विजयी भएका छन् । उनले ६९ मत प्राप्त गरि विजयी भएका हुन भने उनका प्रतिष्प्रर्धी शुरज ज्ञवालीले ३१ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार