बर्दियाको गुलरियामा रहेको बर्दिया अस्पतालमा मिर्गौला रोगीहरूका लागि हेमोडायलासिस सेवा शुरू भएको छ ।

मंगलबार लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र पुन मगरले सेवाग्राहीहरूलाई पर्चा वितरण गरी सेवा सुचारु गरेका हुन।

लामो समयदेखि प्राविधिक तथा स्वास्थ्यकर्मीको अभावमा बर्दिया अस्पतालमै थन्किएको उपकरणहरू मार्फत सेवा सञ्चालन गरेपछि सेवाग्राहीहरू खुशी भएका छन् । सेवा सुचारु गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री पुनले प्रदेश सरकारका मातहतका सबै स्वास्थ्य संस्थाहरूको स्तरोन्नति गर्दै सेवा प्रवाह चुस्त दुरुस्त बनाउने र संविधान प्रदत्त आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा नेपाली जनतालाई पुर्‍याउन प्रदेश सरकार कटिबद्ध रहेको प्रतिबद्धता जनाएका छन।

अब देखि चौबिसै घण्टा सञ्चालन हुने यस सेवामा दुई जना चिकित्सक सहित दश जना स्टाफ नर्स खटिएर सेवा निरन्तर दिइने व्यवस्थापन गरिएको छ। अब डायलासिसका लागि बाहिर रिफर गर्नु नपर्ने भएको छ। याे अस्पताल जिल्लाकै पुरानो अस्पताल हाे।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार