पहिलेदेखि नै घोराही बजार दाङ जिल्लाको सदरमुकाम रहँदैआएको छ। पहिले राप्ती अञ्चल हुँदाको अञ्चल सदरमुकाम भने तुल्सीपुर थियो। हाल प्रदेश कायम भएसँगै अञ्चलहरुको नाम अस्तित्वमा छैनन्।
घोराही नाम कसरी रहन गयो भन्ने खुल्दुली धेरैलाई हुनसक्छ। यस बारेमा केही चर्चा गर्नु उचित ठहरिन्छ। वर्षौँअघिदेखि कुनै बखतसम्म घोडाहरु धेरै भएकै कारण दाङको हालको सदरमुकाम र मुख्य ब्यापारिक ठाउँको नाम घोराही रहेको भन्ने बुढापाकाहरुको भनाई छ। घोराहीको नाम राख्न प्रमुख भूमिकामा रहेको घोँडाहरुको पहिचान नमेटियोस् भन्नाका खातिर हाल घोराहीको ट्राफिक चोकमा एकजोडी घोडाको प्रतिमा राखिएको छ।
तत्कालिन राप्ती अञ्चलका पाँच जिल्ला रुकुम, रोल्पा, सल्यान, प्यूठानका मानिसहरु सामान खरिदका लागि दाङको घोराहीमा आउने गर्दथे। पहिले पहिले जुत्ता चप्पल बेगर नै दाङसम्म आउने जाने हुन्थ्यो। घोराहीमा धेरै पहिलेसम्म नेपाल भारत सीमा कोइलाबास बजारमाबाट घोडामा बोकाई सामान ल्याउने गरिन्थ्यो। त्यसैकारण पनि त्यस ठाउँमा घोडाहरुको संख्या धेरै थियो।
यो लेखक पनि सानो छँदा रोल्पाको खुंग्रीबाट घोराही आउँदा माडीचौरको झोलुंगे पुल तरेर भाग्रीबाङ पुगेपछि घोरखोलाको किनारै किनार धैरे भन्ने स्थान हुँदै मसिनाको डाँडोमा उक्लिएको र केही तेर्सो हिँडाईपछि अरङखोला झरेर फेरि उकाली चढ्दै धौलबाङ उक्लिएको र फेरी राम्चेसम्म तेर्सोबाटो र त्यसपछि फेरी सेवारखोला झरेको सम्झना छ। सेवार खोलैखोल हिँडेपछि बल्ल बगाले भन्ने स्थानमा रहेको पसलमा चिया पिएर केही बेरको हिँडाईपछि घोराही पुगिन्थ्यो। हाम्रा पिताजीले रोल्पाको खुंग्रीमा पसल गर्दा घोराहीबाट दिनभरीको बाटो भारी बोके बापत भरियालाई चार रुपियाँ दिनुहुन्थ्यो। त्यतिबेला चार रुपियाँ पनि ठूलो रकम गनिन्थ्यो। पछि घोँडाबाट सामान ढुवानी हुनथालेपछि हाम्रो पसल वाहिर लहरै घोँडाहरुलाई घाँस र दाना खुवाइएको यो लेखकलाई सम्झना ताजै छ। हालका दिनहरुमा आवतजावत गर्न पहिले जस्तो गाह्रो छैन। जताततै सडक पुगेको छ। गाडीहरु गुडि नै रहेका छन्। यात्रा गर्न पहिलेजस्तो पैदल हिँड्नुपर्दैन र सामान ढुवानीका लागि घोडा वा भरियाबाट बोकाउनुपर्दैन। साना ठूला ढुवानीका सवारी साधनहरु भनेवमोजिम पाइन्छन्।
घोराहीलाई २०३५ साल माघ १५ गते त्रिभुवननगर नगरपञ्चायत नामाकरण गरिएको थियो भने गणतन्त्र स्थापनापछि २०६५ कार्तिक २० गतेदेखि त्रिभुवननगर नगरपालिकाको नाम परिवर्तन गरी पुनः घोराही नगरपालिका बनाइयो । संघीय संरचना अनुसार २०७३ वैशाख २२ गतेको नेपाल सरकारको निर्णय अनुसार साविकका त्रिपुर नगरपालिका, सौंडियार गाविस, धर्ना गाविस, रामपुर गाविस, लक्ष्मीपुर गाविस र सैघा गाविस गाभेर नगरपालिकालाई उपमहानगरपालिकामा रुपान्तरण गरिएको हो । दाङ उपत्यका दक्षिण एशियाको दोस्रो ठूलो उपत्यका भनिए तापनि लिखित अभिलेख वा प्रमाण भने कतै फेला परेको पाइँदैन।
पूर्वमा बंगलाचुली गाँउपालिका, पश्चिममा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा रोल्पा जिल्ला र दक्षिणमा लमही नगरपालिकाले घेरिएको घोराही उपमहानगरपालिकाको कुल क्षेत्रफल ५२२.२१ बर्ग किलोमिटर रहेको छ । २०६८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ३५ हजार ४ सय १९ घरधुरीमा कूल जनसंख्या १ लाख ५६ हजार १ सय ६४ रहेको थियो भने २०७८ सालको जनगणना अनुसार घोराही उपमहानगरपालिकामा ४९ हजार ७ सय ६१ घरधुरीमा कूल जनसंख्या २ लाख ५ सय ३० रहेको छ जस्मा ४६.८ प्रतिशत पुरुष छन् भने ५३.२ प्रतिशत महिला रहेका छन । घोराही उपनगरपालिकामा साविक राप्ती अञ्चलका रुकुम, रोल्पा, सल्यान र प्यूठानका साथै अर्घाखाँचीबाट पनि बसाई सराई भैआएको पाइन्छ। दाङकै छेउँछाउँका गाउँहरुबाट समेत शहर बजारतिर बसाई सर्ने क्रम बढ्दो छ। तुलसीपुर उपमहानगरपालिकामा सल्यान र पश्चिम रुकुमबाट बसाइ सराइ भएको पाइन्छ भने घोराही उपमहानगरपालिकामा बसाइ सराइ गर्नेमा रुकुम पूर्व, रोल्पा र प्यूठानका धेरै छन्।
पहिले पहिले पहाडका जनता मधेशतिर झर्न सितिमिति मान्दैनथे। औलोको डरले मान्छेहरु पहाडमै बस्न रुचाउँदथे। हालका दिनहरुमा दाङमा सुविधाहरु बढ्दैजाँदा भने गाउँका मानिस शहर बजार केन्द्रित हुनथालेको आभाष पाइन्छ। यो लेखकलाई सम्झना भए अनुसार २०३३ अगाडि घोराहीमा भुपनारायण श्रेष्ठ एण्ड सन्स नामको होलसेल पसल थियो। त्यस्तै भिंग्रेली पसल कपडाको लागि चर्चित थोक विक्रेता थियो। आसपासमा केही पसल र होटल मात्र देखिन्थे। माइती होटल पहिलेदेखि नै नाम चलेको थियो। त्यतिबेला घोराहीका सडक साँघुरो नै थियो। २०३६ साल आसपासमा घोराहीमा जेनेरेटरबाट बत्ती बालिन्थ्यो त्यो पनि सीमित स्थानहरुका लागि। घोराहीमा एउटा ब्यापारिक लाइन पनि थियो जहाँ कतिपय पसलका साइनबोर्डमा माथी नेशनल ट्रेडिङ लिमिटेड र तल पसलका नाम उल्लेख भएका देखिन्थे। घोराहीमा सिमला टेलर र गुडलक टेलर त्यतिबेला धेरै चल्ने टेलर थिए भने कपाल काट्नको लागि जनता हेयर कटिङ नामको एउटा मात्र सैलुन देखिन्थ्यो। लुगा धुलाईका लागि धोवीको पसल एउटा भए जस्तो लाग्छ। हामी घोराही बजारमा खरिदारी गरिसकेपछि सेवारखोला हुँदै बाह्रघण्टाको पैदल यात्रा गर्दै घरतर्फ लाग्थ्यौँ। साँझसम्म घर पुग्न नसकेको अवस्थामा मसिना वा धौलबाङमा बास बस्थ्यौँ। त्यतिबेला पुसको जाडो होस् वा जेठको गर्मी एकसरो लुगा मात्र हुन्थ्यो। स्वीटर ज्याकेट बजारमा पाइँदैनथे। भारतबाट आउने कसैकसैले स्वीटर र ऊनको टोपी ल्याउँथे। लाहुरेहरु भारतबाट आउँदा भरियालाई बाकस र लत्ता कपडाका गुन्टा बोकाएर ल्याउँथे।