राप्तीभेगका साथै अन्य ठाउँहरुमा पनि पाइने चैतेबाँको फागुनको दोस्रोसातादेखि उम्रिनथाल्छ। कन्दमूल अन्तर्गत पर्ने यो वनस्पति विशेष गरि ताजा तरकारीको रुपमा पकाइन्छ। साथै यसलाई बोरी अर्थात् मस्यौरा बनाएर सुकाएर पनि राखिन्छ। चैते बाँको उसिनेर सुकाएर राख्ने प्रचलन पनि गाउँघरमा कायमै छ। बर्खामा पाइने बर्खेबाँकोमा पातहरु हुन्छन् भने चैतेबाँकोमा पातहरु देखिदैन। बाँकोको टुँसो छिप्पियो भने पत्ताएर वा फक्रिएर दुर्गन्ध फेलिन्छ र झिंगाहरु पनि भ्रममा परेमा त्यसमा झुम्मिएको देखिन्छ।
बाँको समशितोष्ण र गर्मी ठाउँमा पनि पाइन्छ। होँचा लेकहरुमा भने कम मात्रामा पाइन्छ। यसको तरकारी बनाउनको लागि अमिले वस्तु जस्तै- अम्चुर, कापु, काभ्रो आदि अनिवार्य हुन्छ। अमिलो वस्तु नराखि पकाएमा कोक्याएर खानै नसकिने हुन्छ। बर्खेबाँकोको तुलनामा चैतेबाँको कम कोक्याउने गर्छ। तरकारी पकाइसकेपछि सेलाएर मात्र खान उपयुक्त हुन्छ। दुबै बाँकोको तरकारी तात्तातो खाएमा कोक्याउँछ।
हालका दिनहरुमा यसको गाना निकालेख उसिनेर खाने गर्नाले र अन्यत्रै लगेर रोप्नाले यसको अस्तित्व संकटमा पर्दैगैरहेको स्थानीयहरु बताउँछन्। भिरालो जमिन, बाँझो जमिन, खेतका आली र चट्टानको कापमा पनि यो उम्रने गर्दछ। यसको तरकारी खान नयाँ पुस्ताकाभन्दा पनि पुराना पुस्ताका मान्छेहरुले बढी रुचाउनेगरेको पाइन्छ।
बरी वा मस्यौरा बनाएर राखिएको वा उसिनेर राखिएको चैतेबाँकोमा आलु र अमिलो वस्तु मिलाएर पकाएमा ज्यादै स्वादिष्ट हुने बताइन्छ। यसको गाना संरक्षण गर्नु जरुरी देखिन्छ। किन कि चैतेबाँकोको गाना जथाभावी निकाल्नाले यो लोप हुनसक्ने अवस्थामा छ। यसको संरक्षण गर्नु जो कोहीको पनि कर्तब्य हुनआउँछ। सुख्खायाममा अरु तरकारी उपलब्ध नहुँदा यसले कामचलाउको काम पनि गर्छ। यो पोषणयुक्त पनि छ। चैत जानैलाग्दा चैतेबाँको सिजन सकिन (निख्रिनथालेको) छ।