संघीय राजधानी काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका अन्य रंगमञ्च तथा हलहरुमा मैले रोल्पाली साहित्यानुरागीहरु ज्यादै कम संख्यामा देख्दै आएको छु।
कतिपय कार्यक्रममा रोल्पा मात्र होइन राप्तीकै प्रतिनिधिको रुपमा मैले आफूलाई मात्र उभ्याएको पाउँछु। मेरो दिनचर्या राजधानीमा रहनुभएका देशभरका ख्याति प्राप्त प्राज्ञहरुसँग बितिरहँदा ज्यादै आनन्द महसुस हुन्छ। रंगमञ्च वा हलहरुमा पुराना साहित्यिक मीत्रहरुसँग सम्वन्ध नविकरण भै नै रहन्छ। मलाई साहित्ययात्राले सन्तुष्टि प्रदान गरेको छ।
बिहीबार मात्र दाङको घोराहीबाट रात्रीबस चढेर शुक्रबार राजधानी काठमाडौँमा ओर्लिइन् रोल्पा इरिबाङकि एक स्रस्टा गजलकार दिलकुमारी मगर। राम्ररी फ्रेस नभएरै हतारहतारमै उनी निर्धारित समयमै प्रज्ञाप्रतिष्ठानको हलभित्र प्रवेश गरिन्। मैले हलभित्रैबाट उनलाई फोन गरेँ, फोन उठाइन् र म पनि हलभित्र छु भनिन्। पहिलो देखादेख हुँदा एकछिन खुशी साटासाट पनि भयो। गरिमामय प्रतिष्ठानमा दुवै रोल्पालीको उपस्थिति भयो।
गजल वाचनको नवौँ रोलक्रममा रहेकि दिलमायाले आफ्नो गजल यसरी वाचन गरिन्-
जिन्दगी यो मुहार किन अँधेरो सधैँ
तँ आफै होइनस् र हौसला तेरो सधैँ
रचना उत्कृष्ट र वाचनकला झन उत्कृष्ट उनको गजलले म प्रभावित भएँ। उनको गजल वाचन सकिएलगत्तै हलभित्र तालीका आवाजहरु गुञ्जायमान भयो। घरायसी जरुरी कामले गर्दा म बीचैमा उठेर घरतिर लागेँ। फोनमा कुरा गरौँला भनेर हामी छुट्टियौँ। आज मैले आफूलाई निकै खुशी महसुस गरेँ। किनभने रोल्पा साहित्यिक क्षेत्रमा कमजोर छैन।
रोल्पामा पनि साहित्यिक स्रस्टाहरु मात्र होइन साहित्यिक संस्थाहरु पनि छन्, बेलाबेलामा साहित्यिक कार्यक्रमहरु पनि भैरहन्छन्। शैक्षिक क्षेत्रमा रोल्पा राप्तीकै कमजोर जिल्लामा गनिँदैआएको छ। २०५६ सालदेखि २०७९ सालसम्म मैले सिंहदरवारभित्र कोही पनि रोल्पाली निजामती कर्मचारी भेटाउँदैनथेँ। मलाई बडो चिन्ता लाग्थ्यो, निजामती क्षेत्रमा रोल्पालीहरुको सहभागिता किन कम भयो भनेर। राजधानीका सरकारी निकायहरुमा निजामती कर्मचारी आफूलाई मात्र देख्दा नमज्जा लाग्दथ्यो।
जे होस्, हालका दिनहरुमा साविक राप्ती अञ्चलका अन्य जिल्लाहरुको तुलनामा कम संख्यामा भए पनि रोल्पालीहरुले लोकसेवा उतीर्ण गरेर निजामती सेवामा लागेका छन्। जो खुशीकै कुरा मान्नुपर्दछ। साहित्य क्षेत्रमा लाग्ने कर्मचारी हतपत्त भ्रष्टाचार गर्ने सोँच राख्दैन, किन कि साहित्यले उसको हृदय कोमल बनाइदिएको हुन्छ। नेपालमा जागिरमा पनि रहने र साहित्यतिर पनि संलग्न हुनेहरुको संख्या धेरै नै छ। साहित्यमा लागेका कर्मचारीहरु अवकाशपश्चात खाली बस्नुपर्दैन। उनीहरुका रेख रचनाहरु फुरि नै रहन्छन्, कसैले कृति प्रकाशन गर्लान् त कसैले सञ्चार माध्यमहरुमा प्रकाशनका लागि पठाउलान्। केही रोल्पाली साहित्यकारहरुका कृतिहरु प्रकाशन भैसकेका छन्। यसलाई खुशीको कुरा मान्नुपर्दछ।