राजधानी काठमाडौँका विगमार्ट तथा भाटभटेनी सुपरमार्केट लगायतका ठूला ब्यापारिक केन्द्रहरुमा पाइन्छन् किलोको नौ सय पर्ने तित्री अर्थात् इमली।
ती इमली नेपालमा थाइल्याण्ड लगायत तेस्रो मुलुकहरुबाट आयात हुन्छ। उता गाउँमा रहेका बाेटहरुमा तित्री वा इमली त्यसै सुकेर झुण्डिरहेको अवस्थामा देखिन्छन्। पहिले पहिले बाेटमा चढेर तित्री टिपेर खाने चलन थियो, हाल त्यो चलनमा कमी हुँदैआएको पाइन्छ। अहिले गाउँगाउँका विभिन्न दोबाटोहरुमा साना बजारहरु पनि खुल्दै गैरहेका छन्। जहाँ विभिन्न खालका पसलहरु सञ्चालनमा छन्। त्यसमध्ये फलफूल पसल पनि चल्छन्, जहाँ मधेशबाट तथा भारतबाट आयात गरिएका फलफूलहरु पाइन्छन्। सजिलैसँग किनेर खान छाडेर रुखमा को चढोस् भन्ने मनस्थितिमा छन् अहिले गाउँघरका बासिन्दाहरु।
गाउँमा युवाहरु पनि खासै देखिदैनन् रोजगारको सिलसिलामा देशभित्रका अन्यत्र स्थानमा र विदेश छन्। बुढाबुढी र बालबालिका रुख चढ्ने कुरा पनि आउँदैन। त्यसैले गाउँघरका कैयन फलफूलहरु बोटमै सुकेर वा कुहिएर जाने अवस्था छन्।
मुलुक अहिले आयातमुखी छ भन्नुमा कुनै फरक पर्दैन। मकै, कोदो, फापरलगायतका अनाज समेत भारतबाट आयात हुनु ज्यादै दुःखको कुरा हो। खेतबारीहरु बाँझो राख्दै युवाहरु कामको सिलसिलामा विदेश जाने वाध्यताले गर्दा गाउँ पहिलेको जस्तो छैन। कतिपय बसाई सरेर मधेश तथा सदरमुकाममा गैसकेका छन्। कतिपयका गोठहरु खाली भैसके भने कतिपयका घर तालावन्दी अवस्थामा भेटिन्छन्। शहर बजारमा बसेर पाउडरबाट बनाइएको अस्वस्थकर दूध र दूधजन्य अन्य परिकारहरु खान बाध्य छन् अहिले गाउँबासीहरु।
भारतबाट आयातीत पालिस लगाइएको अस्वस्थकर चामल नै मन पराउने भएका छन् गाउँलेहरु। बियाँ, कनिका र ढुटो मिश्रित चामल त विर्सिसके गाउँलेहरुले। गाउँमा उपलब्ध रैथाने दालहरु पनि अहिले नेटो काटेर अन्यत्रै जान्छन् र गाउँमा बजेखुचेका बासिन्दाले बजारका अस्वस्थकर दाल खानुपर्ने अवस्था छ।
तरकारी पनि सिजन अनुसारकाभन्दा पनि विषादीयुक्त तरकारी खाने चलन बढ्दै गैरहेको छ। जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दै गैरहने र अस्पताल धाइरहने अवस्था छ। शहरका वासिन्दाहरुको जस्तै गाउँलेहरुको जीवनशैली पनि असुरक्षित बन्दै गैरहेको छ। कपासका सिरक-डसनाका सट्टा फाइवरका सिरक-डसना प्रयोगमा आउनथालेका छन्। ऊनीबाट बनेका कम्बल र काम्लो पाउन छाडेको छ। चीनियाँ सस्तोखालका कम्बलहरु उपयोग गर्नथालिएको छ गाउँघरमा पनि। त्यस्तै गुन्द्री परालको होइन प्लास्टिकका पाइनथालेका छन्। सिमेन्टको घर बनाउने होड पनि चल्दैछ गाउँघरमा। ढुंगा माटोको स्वस्थकर घरलाई वहिस्कार गर्दै सिमेन्टको घर बनाएर बस्दा स्वास्थ्य विग्रँदो अवस्थामा छ। स्वास्थ्यका लागि पुरातनशैली नै कैयन गुणा बढी उपयुक्त हुँदाहुँदै मानिसहरु आधुनिकताको नाममा अप्राकृतिक बनिरहेका छन्।
गाउँघरमा पाइने सिजन अनुसारका फलफूलभन्दा बढी मैन दलिएका स्याउ, कोल्डस्टोरमा जवर्जस्ती बचाइएका सुन्तला, विषादीयुक्त आँप र अंगुर उपभोग हुँदैआएको छ। यो ज्यादै नै चिन्ताको विषय बन्दै गैरहेको छ। तिँदू, चिउरी र तित्री वा इमली खानु आफूलाई सानो सम्झिने अवस्था छ, स्याउ किनेर खाँदा ठूलो मान्छे भइने सोँचाई पनि छ अहिले। अहिले घरघरमा औषधीहरुको थुप्रो देख्न सकिन्छ- ट्याब्लेट, क्याप्सुल र झोलको रुपमा। कतिपयले अन्दाजको भरमा औषधी किन्ने र औषधी पसलेले पनि नाफालाई मात्र ध्यान दिई जथाभावी औषधी र शक्तिवर्धक सामग्रीहरु भिडाउने प्रचलन पनि बढ्दैगएको पाइन्छ।