हो म कलंकित हो
म परिवारको कलंक हो
म समाजको कलंक हो
म देशको कलंक हो
अझै भनुं त म सृष्टिकै

कुनै प्रलयले नमेट्ने कलंक हो।।
मेरो कलंक धर्मले मेट्न सक्दैन
मेरो कलंक समुद्रले धुन सक्दैन
मेरो कलंक न त स्वर्गले मिथ्या
बनाउन सक्छ न त नर्कले।
मेरो कलंक परिवारबाट
बाहिर हुत्तिन्छ
समाजले छताछुल्ल
पोखिदिन्छ।

अनि समाजमा ईज्जतको
भारी बोकेका
ठेक्कापट्टामा बोलकबोल
गर्दै उच्च मूल्य तोकेकाहरूले
बहिष्कार गरिदिन्छन्
मेरो लागि मूल्य बढाबढ
गर्न ठेक्काको फारम
कसैले भर्दैन
किनकी म कलंक हुं॥

म स्वास्नी मान्छे
म पुरूषको यौनदासी
त्यसैले त मैले जन्म दिने
बाउकै सन्तान गर्भमा
बोकेर निर्लज्ज बन्नु परेको छ।
काकाको गर्भ बोक्नुपर्ने
कति कलंकित म ?
छि म आंफैलाई घिन लाग्छ
कसरी बांचु म कलंक बोकेर?
दाजुको यौनदासी बनेर
कसरी बांचु म?

ए समाज कलंकित म
मात्रै हो?ती यौनदासी
बनाउने दाजु,बाउ, काका
निष्कलंक कसरी??
छि मलाई देखेर मलाई घिन लाग्यो
यो घिन मेटाऊं म कसरी??
समाज म कसरी कलंकी?
बाउको गर्भले??
काकाको गर्भले??
कि दाजुको गर्भले???

सरकार म न्याय खोजुं कहां?
बाउ जेलमा छ
काका जेलमा छ
तर पापी र कलंकीत म??
बाउलाई फसाई
काका फसाई
दाजु फसाई
समाजको दृष्टिकोण
उनिहरू निरीह?

म मेरो नारीत्वको प्रमाण बोकेर
कसको दैलो धाऊं?
कुन सरकारले हेर्छ
मेरो मुद्धा??
मेरो मुद्दा दर्ता कता हुन्छ?
मसंग त्यो शक्ति छैन
बाउको बलात्कारको परिणाम
बोकेर हिड्न।

मलाई न्याय चाहियो
सरकार कलंकित सन्तान
बोकेर हिड्न सकिन।
म आत्महत्या गरूं?
के गरूं?
सरकार,समाज म के गरूं???
मेरो कलंक मेटाउने
कोही छ?

हे भगवान मेरो कलंक
मेटाइदे!
हे समाज मेरो
कलंक मेटाइदे!
यहे सरकार मेरो
कलंक मेटाइदे!
मलाई समाजमा
ईज्जतसाथ जीउन दे
मलाई जीउन दे
मलाई जीउन दे।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार