अघिल्लो स्थानीय सरकारले २०७५/०७६ गाँउसभाबाटको बिनियोजित बजेटबाट संचालनमा ल्याएको सामुदायिक औषधी पसलका म्याद सकिएका औषधीहरुकाे आइतबार नष्ट गरिएको छ ।
तत्कालीन गाँउपालिका अध्यक्ष बिर बहादुर खत्रीको पालामा खरिद गरि राखिएको लामो समय देखि अलपत्र अवस्थामा रहेको २०७६ सालमा स्थानिय सरकारले वडा नं. ३ का तत्कालीन वडा अध्यक्ष जलेस कुमार केसीको संयोजकत्वमा वडा नं. २ को जिनावाङमा सामुदायिक औषधी पसल सञ्चालनमा ल्याएको थियो । स्थानीय तहकाे दाेस्राे निर्वाचन पछि नयाँ जनप्रतिनिधि आएसंगै उक्त औषधी पसल बेवारिसे जस्तै थियोे। तर अहिलेसम्म पनि बन्द साझा औषधी पसलको कोठा भाडा स्थानिय सरकारले बार्षिक ५५ हजार भुक्तानी गर्दै आएको छ ।
गंगादेव गाउँपालिकाको कार्यालयले औषधी पसल बुझाउनकाे पटकपटक सबै विवरण बुझाउन निर्देशन दिदै आएकाेमा पुरानो सञ्चालक समितिले व्यवास्था गरेपछि आइतबार गंगादेव गाउँपालिकाको कार्यालयले पसल सञ्चालन समितिका सदस्यहरुलाई जिम्मेवार बनाई औसधि पसलको ताला फोडेरै मुल्य एकिन गरेर करिब ३ लाख बराबरको म्याद सकिएको औषधि नष्ट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीले बताए।
स्थानीयहरुका लागि उक्त औषधी पसल संचालन भएयता जिल्ला बाहिर वा सदरमुकाम सम्म पुग्नुपर्ने बाध्यता भने हटेकाे थियाे। तर गाँउपालिकाले स्वास्थ्य क्षेत्रको कर्मचारीकाे दरबन्दी कटौती गरे संगै साझा औषधी पसलको दर्बन्दी कटौति भएकोले सेवा पूर्णरुपमा बन्द भएको थियाे।
गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले उक्त औषधी पसलको उचित छानबिन गरि संचालनमा ल्याउन स्वास्थ्य संयोजक सक्कलदेब यादवलाई जिम्मेवारी दिएका थिए । तर जिम्मेवारी प्राप्त स्वास्थ्य संयोजकले अहिलेसम्म कुनै प्रतिवेदन गाउँपालिकालाई बुझाएका छैनन्।