पेट्रोलियम पदार्थको मुल्य घटेकाे छ।
शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको नेपाल आयल निगमले जनाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको निगमले विज्ञप्ति मार्फत जनाएको छ।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। त्यस्तै खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा बढाएर पठाएको भए पनि तर निगमले ग्यासको भाउ यथावत राखेको जनाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार फरकफरक लागू हुनेछ। जस अनुसार निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ। ग्यासमा प्रतिसिलिन्डर तीन सय रूपैयाँ घाटा भए पनि मूल्य यथावत, १८ सय ९५ रूपैयाँ राखिएको निगमले जनाएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर १४ गते बिहिवार