असार २९, सल्यान – सल्यान जिल्ला बागचौर नगरपालिका वडा न.३ थाराचौर निवासी क्यान्सर पिडित २६ वर्षिय डिल्लीराज डि.सी.का लागि चलाएको आर्थिक संकलन अभियान बन्द गरिएको अभियान्ताले जानकारी दिएका छन ।

क्यान्सर रोगले ग्रसित डि.सी.को उपचारमा गर्न आर्थिक अवस्था कमजोर भएपछि स्थानिय युवाहरु खिमराज डि.सी., तारादेब डि.सी.(USA), खुमराज डि.सी., हिमाल भण्डारी, शिबराज के.सी., प्रेम डि.सी(USA), शोभाराम डि.सी., खिम बहादुर डाँगी र ठाकुर डि.सी. लगायतको टिमको सक्रियतामा “क्यानसर पिडित डिल्ली बचाऊ अभियान” संचालन गरेका थिए ।

उक्त अभियानका अभियान्ताहरुले क्यान्सर पिडित डिल्लीराज डि.सी.को नाममा संचालित दुई वटा खातामा रकम जम्मा गर्ने गरि खाता सार्वजनिक गरि अभियानलाई तिब्रता दिएका थिए ।

असार २९ गतेसम्म संचालन गरिएको अभियानमा नेपाल बैंक लिमिटेड बागचौर शाखामा रु २,१४,७३२.८१(अक्षरुपी दुई लाख चौध हजार सात सय बत्तिस रुपैया एकासि पैसा), Global IME बैंक थारमारे शाखामा रु. ७,७९,६४८ (अक्षरुपी सात लाख उनासी हजार छ सय अठ्चालीस रुपैयाँ) गरि जम्मा रु ९,९४,३८०.८१ (नौ लाख चौरानब्बे हजार तिन सय असी रुपैयाँ एकासी पैसा) सहयोग रकम जम्मा भएको अभियान्ता खिमराज डि.सी. ले जानकारी दिए ।
उनका अनुसार आर्थिक रुपले विपन्न परिवारका क्यान्सर पिडितको अप्रेसन गरि उपचार गर्न सक्ने अवस्थासम्म पुगेको र आजको मिती देखि क्यान्सर पिडित डिल्ली बचाउ अभियान बन्द गरिएको छ ।

बिरामिलाई अहिले सम्म चारवटा केमो चढाएको र अहिलेसम्म सम्मको प्रत्येक केमो चढाउँदा प्रती केमो ५०,००० (पचास हजार) को दरले हुन आउने रकम २,००,०००( दुई लाख मात्र) चेक, जाँच र यातायात खर्च गरि हालसम्मको जम्मा खर्च करिब २,५०,००० (अक्षरुपी दुई लाख पचास हजार रुपैया मात्र) खर्च भएको बताए ।

यस्तै, बिरामीलाई तेस्रो केमो चढाएको १० दिनमा बिरामीलाई अप्रेसनको लागि अस्पतालमा बोलाइएको तर त्यस पटकको CT को रिपोर्ट अनुसार थप ३ वटा केमो लगाएपछि फेरी विभिन्न रिपोर्टको आधारमा अप्रेसन गर्न मिल्ने वा नमिल्ने पछि नै थाहा हुने उपचारमा संलग्न डाक्टरले बताएको अभियान्ताले जनाए ।

डि.सी.को बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचार भैराखेको र अप्रेसन गरेर बिरामिको उपचार सम्पन्न भए पश्चात् सबै आय – व्यय सार्वजनिक गर्ने अभियान्ताले प्रतिबद्धता गरेका छन ।

उक्त अभियान्ता टिमले सहयोग गर्ने सबैलाई अभियान सफल बनाईदिएको हार्दिक धन्यवाद प्रकट गर्दै सहयोगीहरुको नाम प्रमाण सहित पहिला नै सार्वजनिक गरेको बताए । साथै यस टिमले यो सँगै गत बर्ष संचालन गरेको क्यान्सर पिडित “निर्मला बचाउ अभियान” मा सबैजनाबाट ठूलो साथ र सहयोग प्राप्त भै बिरामी निको भै अहिले स्वस्थ अवस्थामा रहेको जानकारी समेत दिए ।

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार