चैत १० राेल्पा – रोल्पाबाट राजधानी काठमाडौं लगाएत देशभरका इट्टाभट्टा जानेहरूको संख्या असीमित छ।
हिउँदयाम शुरु भए संगै पढ्ने,लेख्ने उमेरका बालबालिका र दुधे बालबालिका च्यापेर लट्टीबट्ठी सहित रोल्पा जिल्ला स्थित गाउँगाउँका स्थानियहरु काठमाडौतिर बाटो तताउन थाल्छन्। स्थानिय स्तरमै रोजगारीको वातावरण सृजना नहुँदा उनिहरु घरको ढोकामा ताल्चा मारि कामको खोजीमा काठमाडौं हानिन्छन। गाउँ रित्तो रित्तो बनाएर दुई छाक टार्नकै लागि सयौँका संख्यामा इट्टाभट्टा जाने गर्छन्। अत्यन्त कम पारिश्रमिकतामा मरासन्न हुने गरि भारी बोक्ने र ज्यानै जोखिममा रहेर काम गर्नुपर्ने उनीहरुको नियती हो।
मध्यम उमेरकाहरुका लागि त हातपाखुरा बजारेर खानु सामान्य कुरो हो। तर पढ्ने लेख्ने उमेरका उनिहरुका बालबालिकाहरु पनि अबिभाबकसंगै मजदुरी गर्न बाध्य हुन्छन्। यता हुँदा बालबलिकाहरुले पढ्ने लेख्ने गरिरहेकै हुन्छन्। तर इट्टाभट्टाको सिजनमा घरमा बालबालिका मात्रै एक्लै बस्ने नसक्ने हुँदा अभिवावकसंग भट्टा जान्छन्।गएर पनि सके अनुसारको काम गर्छन्। ईट्टाभट्टामा काम गर्दै आएका रोल्पाका संदेश बिश्वकर्माले भने:`यहाँ अत्यन्त प्रदुषण हुन्छ।दिनभर इट्टाको भारी बोक्दा साझ धुलोले आफ्नै अनुहार नचिनिने हुन्छ।गधाले जस्तै भारी बोक्दा शारीरिक पिडाको त झन् कुरै छोडौँ।´`हामी ठुलाले त काम नगरि खानै नपुग्ने भएकाले गर्नै पर्यो तर पढ्ने लेख्ने उमेरका सयौं बालबालिका देखि दुधे बालबालिकाले पनि यहाँ मजदुरी गरिरहेका हुन्छन्।यस्तो अवस्था देख्दा अत्यन्त पिडा र मनमा हिनता बोध जागेर आउँछ।´
कोरोनाको कहरमा रोल्पाको रुन्टीगढी गाउँपालिका भित्रबाट करि २ हजार माथि ईट्टाभटामा गएका मजदुरहरु घर फर्केका थिए। ति मध्य आधा जति २० बर्ष मुनिका रहेका थिए। बालबालिकालाई देशको संविधानलेनै नि:शुल्क लेख्न र पढ्न पाउने अधिकारको ब्यबस्था गरेको छ। तर गरिब परिवारका लागि देशमा न जनप्रतिनिधि छन् न त सरकार उनिहरुलाई कसैले चिन्न सकेको छैन। करिब एक बर्ष अघि तत्कालीन नेपाली काङ्ग्रेस रुन्टीगढी गाउँपालिका सभापति तथा हालका रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले इट्टाभट्टामा पुगेर त्यहाँ रहेका मज्दुरहरु पिडामा रहेकाले आफ्नो पार्टी उद्वारमा लाग्ने र स्थानीय स्तरमै उनिहरुलाई रोजगारीको वातावरण सृजना गर्ने अभिब्यक्ती दिएका थिए। तत्कालीन स्थानीय सरकार बालाराम बुढा नेतृत्वको स्थानिय सरकारसङ्ग कुनै भिजन नभएकाले आफ्ना ठाउँका मजदुरले दु:ख पाईरहेको आरोप लगाएका थिए।
अहिले तिनै पुन रुन्टीगढी गाउँपालिका अध्यक्ष निर्वाचित भएको बर्ष दिन बित्न लाग्दा मजदुरहरु उद्वार गर्ने,उनीहरुको बालबालिकाको ब्यबस्थित पठनपाठन गराउने,स्थानिय स्तरमै रोजगारी सृजना गर्ने जस्ता निति तथा कार्यक्रम कतै देखिएनन्। र यस बिषयमा अध्यक्ष पुन पनि मौन छन। इट्टा भट्टामै काम गरिरहेका एक मजदुरले अध्यक्ष पुनको अघिल्लो अभिव्यक्तिले आफुहरु खुसी बनेपनि उनै पुन सत्ता पुगेर बिर्षियपछि निरासा बढेर आएको बताए।
बाल अधिकार हननको जिम्मा कसले लिने?
१८ बर्ष मुनीका बालबालिकाले नि:शुल्क पढ्न लेख्ने पाउने अधिकारको राज्यले ग्यारेन्टी गरेको छ।तर रोल्पाबाट इट्टाभट्टा जाने बिपन्न परिवारका बालबालिकाले पढ्न,लेख्न पाईरहेका छैनन्।उनिहरुले कलिलै उमेरमा भट्टाको धुलो धुवा र प्रदुषणले विक्षिप्त छन्। उनीहरुको भविष्य नै मजदुर निर्धारण भैसकेको छ। मुलुकमा इतिहासको कालखण्डबाट अहिलेसम्म थुप्रै ब्यबस्था परिबर्तन भैसकेको छ। तर अबस्था फेरिन सकेको छैन।लोकतान्त्रिक मुलुकमा बालबालिका अधिकारको नै धज्जी उडाइनु सामाजिक अपराध मानिन्छ। यसको जिम्मा स्थानिय सरकार सहित ३ तहको सरकारले गम्भीर भएर लिनु पर्छ।