चैत ९ राेल्पा – रुन्टीगढी गाउँपालिका स्थित होलेरी बजारबासीको खानेपानीको सपना साकार भएको छ।
आसपासमा खानेपानीको पर्याप्त श्रोत नहुँदा बजारबासीले रातभर जागाराम बसेर पानी भर्नु पर्ने बाध्यता थियो। अझ भनौँ उनिहरु काकाकुल बन्दै आइरहेका थिए।होलेरी चन्दन खोला पन्च वर्षिय आयोजना सम्पन्न भएपछि अहिले सबैको घरघरमा धारोभरि पानी झर्दा स्थानियहरुको हर्षले सिमा नाघेको छ।
उपभोक्ता समिति मार्फत संघीय सरकारको क्रमागत ५ करोड बजेटमा निर्माण थालनी भएको आयोजना ७ बर्षपछि मात्रै सम्पन्न भएको हो। समयमै बजेट नआउँने लगाएतका समस्याहरुले गर्दा आयोजना ढिला भएको उपभोक्ता समिति अध्यक्ष गोविन्द पुन(नजर)को भनाई रहेको छ। स्थानिय सरकार रुन्टीगढी गाउँपालिकाको थप ५० लाख सहयोगमा आयोजना सफल भएको हो।
शुरुशुरुमा लिफ्ट सिस्टम प्रविधिप्रति स्थानियहरुको खासै बिश्वास थिएन। तर एक बर्षसम्म निरन्तर आफ्नो धारोमा पानी आउँन थालेपछि आफुहरु खुसी भएको स्थानिय व्यावसायि बलबहादुर पुनले बताए।पहिले खानीपानी मात्र भर्न पनि समस्या थियो।उनले भने अहिले नुहाउन देखि ब्यबसायका लागि सम्म पर्याप्त पानी आउँछ।
खानेपानी घरमै आउँन थालेपछि वर्षौँसम्मको आफुहरुको सपना साकार भएको स्थानिय विद्यार्थी इश्वर केसीले बताए। पहिले खानेपानी भर्न जाँदा साझ बिहान घण्टौँ लाइन लाग्नु पर्ने बाध्यता रहेकाले पढ्ने लेख्ने समय पानी भर्नमै ठिक्क हुने समस्या खेपेको बताउँदै अहिलेपनि समयको सदुपयोग भएको उनको भनाई रहेको छ।होलेरी र आसपासका सयौं घरधुरी लाभान्वित हुने खानेपानी आयोजना सम्पन्न हुँदा स्थानियहरु हर्षित बनेका छन्।