चैत ०८, सल्यान – सल्यानको दार्मा गाउँपालिकामा कक्षा कोठामा कला सम्बधि ५ दिने तालिम सुरु भएको छ ।
दार्मा गाउँपालिकाको आयोजना र स्पेस (पहिचानको खोजि) संस्थाको सहयोगमा ५ दिने कक्षा कोठा कला तालिम सुरु भएको हो । तालिममा गाउँपालिकाभित्र रहेका ३६ वटा विद्यालयबाट प्रतिनिधित्व हुनेगरि मा.वि र नि.मा.वि.का १० जना शिक्षकहरुले सहभागिता जनाएका छन ।
तालिम उद्घाटन गर्दै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी.ले गाउँसभाबाट नीति तथा बजेटको व्यवस्थापन गरिएको र पालिकाभित्र रहेका र लुकेका कला, साहित्य तथा सांस्कृतिको संरक्षण गरि दिगो बनाउन नाटकीय माध्यामबाट शिक्षण सिकाइ गराउनु पर्ने आवश्यक भएको बताए । उनले नाटकीय माध्यमबाट शिक्षा दिने हो भने स्कुल आउन र पढ्न मन नलाग्ने जस्ता समस्या भएका बच्चाहरुलाई नि यसले हौसला प्रदान गर्ने विश्वासले यो कार्यक्रम लागू गरेको जनाए ।
कार्यक्रमको औचित्य बारे प्रष्ट पार्दै पहिचानको खोजिका सहजकर्ता शुरेस चन्दले यो नाटकको माध्यमबाट कक्षा कोठामा शिक्षण सिकाइ कसरी गराउन सकिन्छ भन्ने विषयको कार्यक्रम भएको बताए । उनले कक्षा कोठामा जाने किताब हेरेर मात्रै पढाउने विधिलाई हटाई विद्यार्थीको दिमागमा घोकेर भन्दा व्यवहारिक देखेर नै शिक्षण सिकाइ गरेपछि दिर्घकालिन हुने भएकाले यो विधि लागू गर्नुपर्ने जनाए ।
चन्दले सिकाइ भन्ने कुरा शब्दमा भन्दा नाटक दृश्यबाट सिकायो भने दिर्घायु हुने बताउँदै वर्षौ अगाडि हेरेका फिलिमहरु याद हुने तर बिहान घोकेका कुरा विर्सिने समस्या जो छ त्यसलाई निराकरण गर्न यो विधिबाट नै शिक्षण सिकाइ गर्नुपर्ने बताए ।
शिक्षा क्षेत्रमा केही परिवर्तन गर्नुपर्ने र त्यो सम्भव पनि भएकाले विद्यार्थीलाई यो विधिबाट पढाउँदा फाइदा हुने बताए । करिब १५/२० वर्ष देखि नै काठमाडौं लगायत पुर्वतिर यो कार्यक्रम चलाएर राम्रै अनुभव बटुलेको र यो विधिबाट शिक्षण सिकाइ गराउँदा प्रभावकारी समेत भएकोले सल्यानमा पनि यो कार्यक्रमको सुरुवात गरेको उनको भनाइ छ ।
यो तालिम ५ दिनसम्म संचालन हुने र दार्माभित्रका सम्पुर्ण विद्यालयबाट प्रतिनिधित्व गरेर आउनु भएका शिक्षकहरुले विद्यालयमा अन्य शिक्षकलाई नि सिकाई नाटकीय विधिबाट शिक्षण सिकाइ सुरु गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिए ।