फागुन २८, सल्यान – सल्यानको कपुरकोट गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि बनाएको निति कार्यान्वयनमा आएको छ ।
गाउँपालिकाले कुनै पनि नविवाहित जोडिले विवाह गर्नु पूर्व वडा कार्यालयबाट सुभकामना सहितको सिफारिस लिनुपर्ने नीति बनाएको थियो ।
जसअनुरुप विवाह गर्न उमेर पुगेका दुलाहा कपुरकोट वडा नं. ३ निवासी खगेन्द्र सेन र दुलही शारदा नगरपालिका वडा नं. १५ मालनेटा निवासी पबित्रा शाहको जोडिले आज पहिलो सिफारिस लिएका छन ।
गाउँपालिकाको यो नितिको कार्यान्वयन गर्न योग्य भएको भन्दै समाज सुधार र विकासमा गाउँपालिकालाई सहयोग गर्न आफुहरुबाटै सुरु गरेको नवदुलाहा सेनले बताए । उनले खास उमेर नपुगी विवाह गर्नु भनेको आफ्नो जिन्दगीका लागि नै ठुलो दुर्घटना निम्त्याउनु सरह भएको बताउँदै उमेर पुगे मात्रै विवाह गर्न र वडाबाट सिफारिस लिन कुनै अप्ठ्यारो नमान्नु पर्ने जनाए ।
कपुरकोट गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष प्रदिप खडका , कार्यपालिका सदस्य राधिका यरी, वडा सदस्य तिलक सिङ ठकुरि सहितका जनप्रतिनिधिले खादा , टिका सहित बैबाहिक जिवनको लागि सुभकामना दिदै उक्त जोडिलाई सिफारिस प्रदान गरेका हुन ।
यस्तै गाउँ कार्यपालिकाले बनाएको नितिलाई सहर्ष स्विकार गरि वडाबाट सिफारिस लिई विवाह गर्ने पहिलो जोडि भएकोमा गाउँपालिकाले धन्यवाद सहित बधाई ज्ञापन गरेको छ । कपुरकोट गाउपालिकाको १२ औ गाउँ सभाको निर्णय अनुसार बालविवाह न्युनिकरणको लागि विवाह पुर्व अनिवार्य वडाको निशुल्क सिफारिस लिनुपर्ने र यहि फागुन १५ देखि यस्तो सिफारिस नलिनेलाई विवाह दर्ता गराउन आउँदा रु ५०००/- जरिवाना गर्ने निर्णय समेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए ।
साथै बालविवाहको भोजमा सरिक हुने जनप्रतिनिधि, कर्मचारी, विवाह गराउने पण्डित र जैसीलाई समेत रु. ५००० जरिवाना लाग्ने नीति बनाएको उनले बताए ।