फागुन २४, सल्यान – ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बागचौर नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाले बागचौर नगरपालिकाका १२ वटै वडाका ३७ जना श्रमिक महिला दिदिबहिनीहरुलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले महिलाहरु चुलो चौकोमा मात्र सिमित नभएर आफ्नो अधिकारका लागि डटेर लाग्नुपर्ने बताए ।
स्रोत र साधनको कमि हुदाहुदै पनि प्रोत्साहन स्वरुप श्रमिक महिलाहरुलाई सम्मान गरिएको उहाँको भनाइ छ । महिलाहरुलाई पुरुष सरहको सम्मान अधिकार दिन नगरपालिका सधै तयार रहेको सधै हातेमालो गरेर अगाडि बढ्ने गौतमले जनाए ।

यस्तै सम्मान कार्यक्रमका विशिष्ट अतिथि नगर उप-प्रमुख सुम्निमा डि.सी.वलीले नारी दिवस ठुलो लडाइँ पछिको प्राप्तिको दिन भएको बताउँदै यो दिनलाई विजयी र उत्सवका रुपमा लिनुपर्ने बताइन् । उनले विभेदका विरुद्ध महिलाहरूले आवाज बुलन्द पार्दै गएको बताउँदै समय परिवर्तनसँगै महिलाहरू अधिकारको कुरामा गुणात्मक रूपमा परिवर्तन हुँदै आएको जनाइन् ।

यस्तै कार्यक्रममा सम्मानित हुने महिलाहरुको प्रतिनिधित्व गर्दै वडा नम्बर १ का कोपिला सुनारले कार्यक्रममा बोल्दै यो सम्मानले आफूहरु निकै खुशी भएको र सम्मान कार्यक्रम प्रभावकारी रहेको बताइन् । उनले अबका दिनहरुमा महिलाहरुको थप दु:ख पिडालाई बुझेर नगरपालिकाले शिपमुलक तालिमको व्यवस्था गरिदिन समेत आग्रह गरिन ।

बागचौर नगरपालिका महिला बालबालिका विकास शाखा प्रमुख रिता वलीको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य महिला बालबालिका विकास शाखामा कार्यरत सुशीला शर्मा गरेकी हुन भने कार्यक्रमको सहजीकरण नगरपालिका उद्योग विकास शाखामा सहायक चौथो स्तरमा कार्यरत निर्मला बस्नेतले गरेकी थिइन ।

यस्तै ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस बागचौर नगरपालिकाका १२ वटै वडा लगायत देशभर विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार