फागुन २२, काठमाडौं  – फागु पर्व, काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ ।

सामान्यतया फाल्गुण शुक्ल पूर्णिमाका दिन फागु मनाइने भए पनि यो वर्ष चतुर्दशीकै दिन यो पर्व मनाउन लागिएको हो । सोमबार ४ बजेर २८ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि पूर्णिमा तिथि लाग्ने पञ्चांगले उल्लेख गरेका छन् ।

यस्तै म‌ंगलबार साँझ ६ बजेर ११ मिनेटसम्म पूर्णिमा तिथि रहेको छ । मंगलबार तराई–मधेशमा होली पर्व मनाइँदैछ ।

वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ ।

फागु पर्व होली नामले पनि चिनिन्छ । हिरण्यकश्यपुकी बहिनी होलिका आगोमा जलेर मरेको खुशीयालीमा फागुपर्व मनाउन थालेको कथन छ । होलिकाकै नामबाट होली पर्व चलेको विश्वास पनि गरिन्छ ।
फाल्गुण शुक्ल अष्टमीको दिन चीर (विशेषरूपले सजाएको लिंग) गाडेपछि होली हुन्छ। तराई मधेश क्षेत्रमा भने पूर्णिमाको भोलिपल्ट होली मनाउने परम्परा छ । पहाडी क्षेत्रमा होलिकादहन गरेपछि होली सकिन्छ भने तराईमा होलिकादहन गरेपछि यो पर्व मनाइन्छ । फागु पर्व/होलीका अवसरमा सोमबार पहाडी क्षेत्र र मंगलबार तराई–मधेशमा सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २२ गते सोमवार