फागुन ४ सल्यान – ग्रामीण क्षेत्रमा बढदाे बालविवाहलाई न्युनिकरण गर्न विभिन्न स्थानीय तहले अनेक जनचेतना मुलक कार्यक्रम गर्दै आएका छन।
तर सल्यानको कपुरकोट गाउँपालिकाले भने विवाह गर्न वडाको सिफारिस अनिवार्य लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ। हालै सम्पन्न गाउँपालिकाको १२ औँ गाउँसभाले विवाह गर्नु अगाडी अनिवार्य वडा कार्यालयको सिफारिस लिनुपर्ने व्यवस्था गरेको हो ।
गाउँपालिकाभित्र बढ्दै गएको बालविवाहलाई न्यूनिकरण गर्न वडा कार्यालय मार्फत विवाह अगाडी अनिवार्य सिफारिसको व्यवस्था गरिएको र विवाहकाे निमन्त्रणा कार्डमा नयाँ दम्पतीकाे उमेर समेत खुलाउनु पर्ने गाउँपालिकाले जनाएको छ । जम्मा ६ वटा वडा रहेको उक्त गाउँपालिकामा सम्बन्धित वडाकाे बासिन्दाले विवाह हुनुपुर्व वडाबाट अनिवार्य सिफारिस लिनुपर्ने व्यवस्था गरेको छ।
यो व्यवस्था गाउँसभाबाट पारित भैसकेको र अबको केही दिनमा नै कार्यान्वयनमा आउने गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताए ।