फागुन १, सल्यान – २८ औं जनयुद्ध दिवसको अवसरमा ने.क.पा.माओवादी केन्द्र बागचौर नगर समितिको आयोजनामा चियापान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि ने.क.पा.माओवादी केन्द्रका केन्द्रीय सदस्य टिकाराम वलीले महान जनयुद्धमा ज्यान गुमाउने सहिदहरुप्रति हार्दिक श्रद्वासुमन व्यक्त गर्दै जनयुद्धको क्रममा घाईते, वेपता भएका परिवारप्रति सम्झना अर्पण गरे । उनले सिङ्गो जनताको लागि अन्याय, अत्याचार, थिचोमिचोको मुक्तिका निम्ति र नेपाली जनताको आर्थिक, सामाजिक स्थर माथि उठाउनको लागि जनयुद्ध भएको बताए । साथै वलीले जनयुद्ध दिवस पार्टि विशेषको दिवस नभएको बताउँदै नेपालको साझा एवम् राष्ट्रिय दिवस भएको जनाए ।
उनले जनयुद्ध दिवसको अवसरमा चियापान कार्यक्रम उपस्थिति सबैलाई साझा दिवस भएको बताउँदै एकताबद्व, विकासप्रेमी, जनताका हरेक समस्या हल गर्ने जनप्रेमी व्यक्तित्व भएर जाने सबैमा प्रेरणा मिलोस भनी शुभकामना व्यक्त गरे ।
कार्यक्रमका अतिथि नेपाली काङ्ग्रेस कर्णाली प्रदेशका सह-महामन्त्री एकराज डाँगीले जनयुद्ध लगायतका विभिन्न कालखण्डमा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्वासुमन व्यक्त गरे । उनले यो देशको सर्वहाराको लागि गरेको चुनौतीले सार्थकता पाओस् भनी शुभकामना व्यक्त गरे । साथै राजनीतिक आस्थाका आधारमा फरक फरक भएपनि यो देश र समाजका लागि सबै एकाकार भएर लाग्नु पर्ने जनाए ।
यस्तै नेकपा एमाले बागचौर नगर समिति अध्यक्ष घनस्याम शर्माले जनयुद्ध शब्द सबैले सामान्य रुपमा लिए पनि यो देशमा थुप्रै परिवर्तन गर्ने मुल कारण नै जनयुद्ध भएको बताए । उनले देश समृद्धिका लागि र सहिदहरुको सपना पूरा गर्न सबै राजनीतिज्ञहरु साझा एजेन्डा लिएर जानु पर्ने धारणा राखे ।
यस्तै एकीकृत समाजवादीका केन्द्रीय परिषद ज्ञानेश्वर के.सी. ले १० वर्षीय जनयुद्धबाट सविधानसभा र गणतन्त्रको एजेन्डा राखेर नेकपा माओवादी केन्द्रको लक्ष्य अनुरुप नै यो देशमा संघियता सम्भव भएको बताए । उनले लक्ष अनुरुप परिवर्तन आएको भए पनि जनताको जन-जिविकामा परिवर्तन नआएको बताउँदै यसका लागि सबै राजनीतिकक्रमिहरु लाग्नु पर्ने बताए ।
उनले राजनीतिक रुपमा जनयुद्धका सपनाहरु साकार पार्नका लागि सबै पार्टि लागेर अगाडि बढ्न शुभकामना व्यक्त गरे ।
शुभकामना मन्तव्य राप्रपा नेपालकी प्रतिनिधि निर्मला योगी, बागचौर नगरपालिकाका उप-प्रमुख सुम्निमा डि.सी. वली, जनकल्याण नमुना मा.वि. थारमारेमा प्र.अ. डा.पूर्ण बहादुर भण्डारी लगायतका अतिथिहरुले राखेका थिए भने कार्यक्रम विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न संघ, संस्थाका प्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय थारमारेमा प्रतिनिधि, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
ने.क.पा. माओवादी केन्द्र बागचौर नगर समितिका उपाध्यक्ष रोमु शाहीको सभाअध्यक्षतामा भएको २८ औं जनयुद्ध दिवसको अवसरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रमको सहजीकरण सचिव दिपक वलीले गरेका थिए ।