पुस ७ बैतडी – जिल्लाकाे पाटनस्थित कृष्ण माविका शिक्षक ५५ वर्षिय धनबहादुर विष्टको हत्या प्रकरणकाे नयाँ तथ्य खुलेको छ।

मृत फेला परेका शिक्षक विष्टको हत्या भएको दाबि भइरहेको अवस्थामा साेहि घटनाकाे अनुसन्धान का लागि काठमाडौबाट सीआइबीको टोली समेत बैतडी पुगेर अनुसन्धान गर्दा हत्याको प्रारम्भिक अनुमान गरेकाे थियाे।

अनुसन्धानकाे क्रममा बैतडी प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ। पुर्चौडी नगरपालिका -३ न्वादेउकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहरा पक्राउलाई बुधवार पक्राउ गरि प्रहरी अनुसन्धान थालेकोमा प्रजाले घटनाकाे रहस्य सहित हत्या स्विकार गरेपछि दुवै जनालाई बिहीबार सार्वजनिक गरिएको छ।

आराेपित बिमला कृष्ण मावि पाटनको छात्राबासमा कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन् भने उनका श्रीमान प्रजा पनि संगै बस्दै आएका थिए। मृतक शिक्षक विष्ट सोही छात्रावासका माथिल्लो तलामा आराेपित दम्पती तल्लो तलामा बस्दै आएका थिए।

गत १ गते राति बिमला शौचालय गएका बेला श्रीमती फर्कन ढिला गरेपछि खाेज्न शौचालय पुगेका श्रीमान प्रजाले श्रीमती बिमलालाई उनै शिक्षक बिष्टले अंगालो हालेको देखेपछि कुटपिट गरेपछि उनकाे मृत्यु भएको स्विकार गरेकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

प्रजाले विष्टलाई मुक्का हानेर ढलाएर छाती र मुखमा हानेपछि उनकाे मृत्यु भएपछि दम्पती मिलेर राति नै शवलाई छात्रवासको पछाडि फालेको खुलेकाे छ।

आराेपित दम्पती विरुद्ध मुलुक अपराध संहिता, २०७४ को परिच्छेद १२ को दफा १७७ अन्तर्गत मुद्दा शिर्षकमा जिल्ला अदालत बैतडीबाट १० (दश) दिनकाे म्याद लिई थप अनुसन्धान कार्य भइरहेको डिएसपी शाहीले बताए

शिक्षक विष्टको शव पुस २ गते दिउँसो फेला परेको थियो।

प्रकाशित मिति : २०७९ पुष ७ गते बिहिवार