पुस २ सल्यान – जिल्लाकाे मुख्य व्यापारीक केन्द्र श्रीनगरमा १० दिने बृहत कृषि तथा सांस्कृतिक महाेत्सव संचालन हुने भएकाे छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानकाे आयोजनामा पुस १३ देखी २३ गतेसम्म १० दिन बृहत सल्यान लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा साँस्कृतिक महोत्सव सञ्चालन गरिने शनिबार पत्रकार सम्मेलन मार्फत नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा सल्यानले जनाएको छ।

`उद्योग गरौं, उद्यमी बनौं, देश बिकासमा टेवा पुर्याऔँ, मेहनत, सृजना, उत्पादन र बस्तु मेरै नेपालको´ भन्ने मुल नाराका साथ महाेत्सवकाे आयाेजना गर्न लागिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानका अध्यक्ष प्रेम बहादुर डाँगीले बताए ।

उक्त महोत्सवमा दैनिक १० लाख बढीको प्रत्यक्ष र ५ लाख बढीको अप्रत्यक्ष रुपमा कारोबार हुने र महोत्व अवधिभर करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा गरिएको महाेत्सव प्रचारप्रसार समितिका संयाेजक सुमननाथ याेगीले बताए । महाेत्सवमा २ सयभन्दा बढी स्टलहरु, कर्णाली प्रदेशका विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्याेगबाट उत्पादित समाग्रीहरु महाेत्सवमा मुख्य आकर्षणका रुपमा राखिने र स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुकाे सहभागीता सहित बाल उद्यान, पिङ, लगाएतका मनाेरन्जनात्मक वस्तु राखिने प्रचारप्रसार संयाेजक याेगीले बताए।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार