मंसिर १५ दाङ – विवादास्पद तुलसीपुर महाेत्सव अन्तत: उदघाटन हुने भनेकै दिन आज महाेत्सव नै स्थगित भएको छ।

आज देखि युथ्स अफ तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका –६ हात्तीखौवामा मेला लगाउने अन्तिम तयारी पूरा गरि उदघाटन समाराेहमा जुटेकाे बेला बुधबार देखि तुलसीपुर उद्योग वाणिज्य संघले बजार बन्द गरेर महाेत्सव राेक्न दबाब दिदै आएकाेमा बिहान संघका पदाधिकारीले तुलसीपुर उपमहानगरपालिकाको मूल गेटमा समेत तालाबन्दी गरेर कामकाज ठप्प पारेपछि प्रजिअ हिरालाल रेग्मीकाे पहलमा सर्वदलीय बैठक बसेर महाेत्सव स्थगित गर्ने निर्णय गरेको हाे।

आज देखि मंसिर २६ गतेसम्म महाेत्सव सञ्चालन हुने भनिएको थियाे। बिहान तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा स्थानीय प्रहरी प्रशासन, तुलसीपुर उपमहानगरपालिकाका मेयर, मेलाको विरोध गर्ने पक्ष र मेला लगाउने पक्ष सम्मिलित सर्वपक्षीय बैठकले उपमहानगरपालिकाले कार्यविधि बनाई लागू गर्ने र त्यसपछि व्यापारिक स्टलहरूको लिष्ट उद्योग वाणिज्य संघ र च्याम्बर अफ कमर्सले तोके बमोजिम हुनेगरि निर्णय गर्दै उपमहानगरले कार्यविधि नबनाए सम्म कुनैपनि मेला महाेत्सव संचालन नगर्ने सहमति गरिएको तुलसीपुर वाणिज्य संघका महासचिव बिनिल केसीले बताए।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार