कार्तिक २९ राेल्पा – नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका उपाध्यक्ष राेल्पाका वीर बहादुर खत्री `अपराजय´लाई पार्टीको सम्पुर्ण जिम्मेवारीबाट हटाइएकाे छ।
गठबन्धनको विरुद्धमा लागेर गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध विभिन्न अभिव्यक्ति दिदै खुलेरै प्रचारप्रसारमा लागेको भन्दै भन्दै कार्वाही गरिएको हाे।
साेमबार माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज चक्रपानी खनाल `बलदेव´ र अध्यक्ष सुदर्शन खनालले एक विज्ञप्ति मार्फत उपाध्यक्ष खत्रीलाई कारबाही स्वरुप पार्टीको सबै जिम्मेवारीबाट हटाइएको बताएका छन।
`संविधान रक्षा , आर्थिक समृद्धिका लागि गठबन्धन गरि हाेमिएकाे अवस्थामा राेल्पाका आधिकारिक उम्मेदवार विरुद्ध प्रचारप्रसार गरेकाे आधिकारिक प्रमाणपत्र यस कार्यालयमा प्राप्त भएकाले लुम्बिनी प्रदेश उपाध्यक्ष कमरेड वीर बहादुर खत्रीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइएको छ।´ विज्ञप्तिमा भनिएको छ।
राेल्पामा गठबन्धन भएसंगै प्रतिनिधि सभा सदस्यका लागि केन्द्रीय उपमहासचिव वर्षमान पुन छन। दुई प्रदेश सभा रहेको राेल्पामा प्रदेश सभा (क) माओवादी केन्द्रकाे भागमा परेपछि जाेख बहादुर महरा उम्मेदवार बनेका छन। प्रदेश सभा (ख) नेपाली कांग्रेसलाई भागपरेपछि कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका अमरसिंह पुन उम्मेदवार बनेपछि माओवादी केन्द्र प्रदेश सभा (ख) मा विभाजित देखिएकाे हाे।
उसाे त गठबन्धन विरुद्ध माओवादी केन्द्रका राेल्पा इन्चार्ज दिपेन्द्र कुमार पुनले पार्टीबाट राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएसंगै माओवादी केन्द्र निकट नेता कार्यकर्ता गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारीको नै प्रचारप्रसार गरिरहेका छन।
केही दिन अघि गंगादेव गाउँपालिकामा भएको गठबन्धनको चुनावी सभा उनै खत्रीले गठबन्धन विरुद्ध कडा अभिव्यक्ति दिदै कांग्रेसले गलती स्विकार गरेर माफि नमागेसम्म गठबन्धनका साझा उम्मेदवारलाई मत नदिने समेत बताएका थिए।
त्यस यता खत्री खुलेरै गाउँ गाउँमा गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारकाे लागि भाेट माग्दै हिड्ने गरेका पाइएकाे छ। खत्री गंगादेव गाउँपालिका निवर्तमान अध्यक्ष समेत हुन