कार्तिक १२ गाेरखा – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा- २ बाट प्रतिनिधिसभाका उम्मेदवार छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
जनयुद्धकालमा प्रचण्डले गोरखामै बसेर थुप्रै योजना बनाए । तर, गोरखासँग प्रचण्डको नाता यतिमै सीमित भने छैन । आजभन्दा साढे ४ दशक (४६ वर्ष) अघि नै गोरखासँग प्रचण्डको सम्बन्ध जोडिएको थियो ।
प्रचण्डले वि.सं. २०३३ देखि २०३६ सम्म गोरखाको आरुघाटमा अध्यापन गरेका थिए । त्यसबेला देखि नै हो प्रचण्ड र गोरखाको सम्बन्ध जोडिएको ।
गोरखा पुगेका यी क्रान्तिनायकले ४६ वर्ष अघिदेखि गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै भने, ‘४६ वर्षपहिलेको फ्यासब्याक भयो ।’
हिजो सँगै पढाएका दौतरी शिक्षक, किसान दाजुभाइ, दिदीबहिनीसँग प्रचण्डले खुसी साटे । प्रचण्ड मर्निङ वाक गर्दै ४६ वर्षअघि आफू बसेको घरमा पुगे । नुहाउने धारामा पुगे अनि खाना खाने घरसम्म पुगेर आफ्नो युवावयदेखि नै गोरखासँग जोडिएको सम्बन्ध सम्झिँदै खुसी साटे ।
त्यसो त प्रचण्डका लागि गोरखा मात्र होइन गोरखाका लागि पनि प्रचण्ड प्रिय व्यक्तित्व रहेछन् । आरुटारका किसानका लागि प्रचण्ड प्रिय व्यक्ति रहेछन् । यी क्रान्तिनायकले यसपटक गोरखा रोजेकामा त्यहाँका किसान, शिक्षक, कलाकार र अगुवा व्यक्तित्वहरूले प्रचण्डलाई धन्यवाद दिए ।
प्रचण्डको अगुवाइमा ४६ वर्षअघि नै किसानलाई आधुनिक खेती प्रणाली, कम्पोष्ट मलको निर्माण र प्रयोग तथा चर्पी निर्माणको काम समेत भएको रहेछ ।
आरुटारका किसान, शिक्षक तथा अगुवाहरू ४६ वर्ष अघिदेखि नै प्रचण्डको कुशल नेतृत्वदायी क्षमताका बारेमा परिचित रहेछन् । सांस्कृतिक टिम निर्माण, सामाजिक चेतना र जागरणमा आजभन्दा साढे ४ दशक अघि प्रचण्डले खेलेको भूमिकाका बारेमा उनीहरूले प्रचण्डलाई सम्झना गराए ।
आफ्नो युवावस्थादेखि नै अन्योन्याश्रित सम्बन्ध गाँसिएको गोरखा पुग्दा प्रचण्ड खुसीले गदगद देखिन्थे । उता, स्थानीयहरू पनि आफ्नो पुरानो साथीलाई स्वागत गर्न पाउँदा निकै खुसी देखिन्थे ।
आरुघाटमा स्थानीहरूसँग कुरा गर्दै प्रचण्डले आफ्नो जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकहरूको अधिकार स्थापित गर्न सफल भएको बताए । ४६ वर्षअघि आफूले शिक्षण गरेको ठाउँमा आउन पाउँदा प्रचण्डले खुसी व्यक्त गरे ।
चुनावी भेटघाटको क्रममा गोरखा आइ पुगेका पूर्व प्रधानमन्त्री दाहाल दुइ दिन सम्म गोरखा रहने कार्यक्रम रहेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य लेख बहादुर थापा मगरले बताए।
उनीसँग पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि साथमा छन् । ०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट अध्यक्ष भट्टराई निर्वाचित भएका थिए। तर, जनयुद्धका सहकर्मी समेत रहेका दाहाल, भट्टराई अहिले एकै कित्तामा उभिएका छन्।