कार्तिक ४ रोल्पा – परिवर्तन गाउँपालिकाले सार्वजनिक स्थलमा पनि श्रम गर्नुपर्छ भन्ने कर्तव्यलाई नागरिक प्रति लक्षित गरि छुट्टै निति अपनाएको छ।
उक्त गाउँपालिकाले वर्षको एक दिन मात्रै भए पनि लगातार ८ घण्टा पालिका भित्र रहेका विभिन्न सार्वजनिक स्थलमा स्वइच्छाले श्रमदान गर्नुपर्ने चेतना वृद्धिका लागि गाउँपालिकाले पालिका स्तरिय `श्रम–डे´ अर्थात श्रम दिवस मनाउने भएको हाे।
कार्तिक २ गतेकाे सातौं गाउँ कार्यपालिका बैठकबाट नै निर्णय गरि प्रत्येक वर्षकाे `कार्तिक ४´ गतेलाई `परिवर्तन गाउँपालिकाको आह्वान, श्रममा सम्मान’ भन्ने मुल नारा सहित पालिका स्तरीय `श्रम डे´ काे रुपमा मनाउन र त्यस दिन सार्वजनिक स्थलमा कम्तीमा ८ घण्टा सबै पालिका वासीले श्रमदान गर्ने गरि दिवसकै रुपमा अघि सारिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्वराज न्यौपानेले बताए।
त्यसैगरि आगामी महिना देखि प्रत्येक महिनाकाे एक दिन सरसफाइ अभियान अन्तर्गत `हाम्रो परिवर्तन, राम्रो परिवर्तन´ भन्ने नारासहित पालिका भित्रका सबै टाेलटाेलमा सरसफाइ कार्यक्रम गर्ने र जसकाे नेतृत्व तथा अनुगमन सम्बन्धित वडा पालिकाले गर्ने गरि तय गरिएको न्यौपानेले बताए।
शुक्रबार `श्रम-डे´ काे सुरुवात संगै गाउँपालिकाको ६ वटै वडामा एकैसाथ उद्घाटन गर्दै पालिका भित्रका विभिन्न ठाउँमा सरसफाइ समेत गरिएको छ। परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढामगरले दिवसको उद्घाटन गर्दै गाउँपालिकाको प्रशासनीक भवन परिसर सरसफाइ गर्दै आफ्नो गाउँपालिका बनाउने दायित्व आफ्नै भएको र गाउँपालिकाको समृद्ध विकासको लागि गाउँपालिकाकाे याे निर्णय ऐतिहासिक सावित हुने बताए।
स्थानीय स्रोत साधनकाे प्रयाेग गरि अनावश्यक रुपमा खर्चिने बजेट र अनावश्यक देखिने बेरुजुकाे समेत न्युनिकरणका लागि पालिकाले यस्तो निर्णय गरि अघि बढेकाे बताउदै वर्षमा एक दिन कम्तीमा ८ घण्टा मात्रै सबै पालिका वासीले सार्वजनिक स्थललाई श्रम दिएर विकास निर्माणका कुनै पनि कार्य गर्न सके पालिकालाई कम्तीमा पनि ३० लाख आर्थिक भार कम हुने हुदा त्याे मुनाफाकाे रुपमा आउने रकम अरु कामकाे लागि उपयाेगमा आउने हुदा एक जना नागरिकले थाेरै समय दिएकाे याेगदानले साच्चिकै परिवर्तन गाउँपालिकालाई एक नमुना परिवर्तन बनाउन सकिने अपेक्षा लिएकाे समेत अध्यक्ष बुढामगरले बताए।
परिवर्तन गाउँपालिकाको प्रशासनिक भवन परिसर, गाउँपालिकाको बहुउद्देश्यीय सभाहलको परिसर लगाएत पुतलाचौर बजारमा गाउँपालिका उपाध्यक्ष कलादेवी खत्रेनीको नेतृत्वमा गाउँपालिकाकाे विभिन्न शाखामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, बजारवासीकाे टाेलिले सरसफाइ गरेका थिए भने ६ वटै वडाहरुमा वडा अध्यक्षहरुकाे नेतृत्वमा वडा कार्यालय परिसरहरु र टाेलहरुमा समेत सरसफाइ गरिएको छ।