भदौ २७ बैतडी – सामाजिक सञ्जाल फेसबुकमा दलित भन्दै व्यक्तिको नाम नै खुलेर अपशब्द लेखि सार्वजनिक गर्ने एक जनालाई दुई महिना कैद सजाय सुनाइएको छ।

सामाजिक सञ्जालबाट जातीय अपहेलना हुनेगरी व्यक्तिगत रुपमै गालीगलौज गरेका बैतडीको पञ्चेश्वर गाउँपालिका-४ का प्रकाश चन्द विरुद्ध जिल्ला अदालत बैतडीले दुई महिना कैद सहित २५ हजार रुपैयाँ क्षतिपूर्ति र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको हाे।

चन्दले २०७८ वैशाख ३ गते आफ्नाे फेसबुकबाट मेलौली नगरपालिका-५ का स्थानीय बलभद्र दयाललाई ‘नेपालमा दयाल भनेका डुम रहेछन् कि ? जस्तै बलभद्र दयाल’ भनेर लेखेका थिए भने दयाल विरुद्ध नै अर्काे स्टाटस स्वराडकाे प्रचण्ड बलभद्र दयाल चु´ती´या ड डा, डुम त डुमै रहेछन यार भनेर लेखेका थिए।

जनसहारासंग सम्पर्कमा आएका पिडित बलभद्रका अनुसार चन्दले पहिला पनि जातिगत रुपमा सामाजिक संजाल जातजाति बिच विभेद स्पष्ट रुपमा झल्किने गरि स्थानीय दलित समुदायलाई लक्षित गरि फेसबुकमा स्टाटसहरु सार्वजनिक गर्ने गरेपछि बलभद्रले जातिय रुपमा विभेद पुर्ण अमानवीय व्यवहार देखाउनु भन्दा वास्तविक समस्या पहिचान गरि समाधान गर्न मात्रै भनेपछि आराेपित चन्द बलभद्र विरुद्ध पनि त्यस्तै व्यवहार गरेकाे बलभद्रले बताए।

बलभद्रले जनसहारासंग भने; `हामी दुई जना बिच प्रत्यक्ष भेटघाट र पहिचान छैन, फेसबुकमै हाे चिनजान तर उहाँले जातीय विभेद हुने किसमले उहाँकै गाउँको दलितलाई समाजिक संजालमा लेखेकाे देखे ,उहाँलाई तपाईले जातिय रूपमा होच्याउने मानमर्दन गर्ने काम राम्रो होइन ,ब्यक्ति गत केहि छ भने छलफल गर्नुहोस् ,भनेको मात्रै थिए।´

त्यसपछि चन्द विरुद्ध पिडित पक्षका बलभद्रले २०७८ बैशाख ७ गते उजुरी दिएका थिए। चन्द अहिले फरार रहेका छन।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार